तराईमा हावाहुरी र तातो दिनको राप, पहाडदेखि हिमालसम्म वर्षा र हिमपात
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १३ बुधबार
574
Shares
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। यसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहेको छ।
अहिले गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा वर्षाको सम्भावना छ।
त्यसैगरी लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
यसका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ। मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानहरूमा भने अपरान्ह पछि हावाहुरी चल्ने सम्भावना देखिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
रातको समयमा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।