सामाजिक सञ्जालमा लेखिएको एउटा स्टाटस र त्यसमा लेखिएको अर्को एउटा प्रतिक्रियामा आधारित भएर जर्नलिङ गर्न मन लाग्यो । यस आलेखमा राखिएका दुवै अभिव्यक्ति दिनेहरु कृषि व्यवसायी हुन् । यी दुवै मेरा असल मित्र पनि हुन् । भेट हुँदा एक आधाघन्टा हामी गफिन्छौं । कृषि सुध्रेन भनेर कोकोहोलो गर्छौँ । भलै सुन्नेले नसुन्लान् तर हामी बक्न छोड्दैनौँ ।
यी दुवै मित्र पढालेखा छन् । पढेर पनि कृषि व्यवसाय नै अंगालेका छन् । हाम्रोतिर पढेलेखेका धेरै मानिसहरू कृषिमा लाग्दैनन् । तर यिनीहरू दुई दशकयता नियमित रुपमा नंग्रा ख्याउँदै आएका छन् । नाफाघाटा चाहीं उनीहरुलाई नै थाहा होला । मसँग भेट्दा उनीहरु हाँसीखुसी नै देखिन्छन् ।
यी दुवैले रैथाने ज्ञानशिपको उपयोगबाट रैथाने उत्पादनलाई प्रश्रय दिई रैथाने कच्चापदार्थमा आधारित उद्योगको असाध्यै असल परिकल्पना गरे ।
यो वास्तवमै सारा नेपालीले सोच्ने विषय हो । सस्तो पाइने हुनाले होस् वा सजिलै पाइने हिसाबले होस् पारिबाट समान ल्याइन्छ, यहा यसो फिटफाट गरिन्छ र नेपालमा बनेको भनेर बेचिन्छ । अझ यस्ता व्यापारीले सरकारबाट पाउने सहुलियत पनि कुम्ल्याएका आरोप नसुनिएका होइनन् ।
आखिर यो क्रम कहिलेसम्म टिक्छ? यसले कति रोजगारी सिर्जना गर्छ ? यसबारे खासै मतलब छैन ।
आज यी माथिका दुई अभिव्यक्तिमा समेत पर्न नपाएको एउटा रैथाने फलबारे चर्चा गरौं । फलको नाम हो, डाले चुक अथवा सि बकथर्न ।
भारतका प्रधानमन्त्रीले यसबारे चर्चा गरेपछि डाले चुकबारे मानिसहरुको चासो बढ्दै गएको छ । उनले डाले चुकको जुस खानेको औषत आयु सय वर्ष पुग्ने दाबी नै गरेका छन् ।
अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिनले सन् २०२२ मा प्रकाशित गरेको अध्ययन अनुसार डाले चुकमा अत्यन्त अलौकिक मानिने तत्व ओमेगा ७ पाइन्छ ।
यसले रोगसँग लड्ने क्षमता प्रदान गर्दछ । यसमा ओमेगा ३ र ६ पनि पाइन्छ । यसबाहेक सुन्तलाभन्दा धेरै गुणा बढी भिटामिन सी पाइन्छ भने शरीरलाई आवश्यक पर्ने १५ भन्दा बढी तत्व यसमा पाइन्छ ।
यसबाट बन्ने जुसको वर्तमान थोक मूल्य सस्तोमा १५ युरो, अमेरिकामा १५ डलर, अर्गानिक भए २५ युरो र कोल्ड पे्रस्ट प्रविधिबाट उत्पादित जुसको मूल्य प्रतिलिटर ३५ युरो पर्छ ।
बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयले सन् २०१० मा गरेको एक अध्ययन अनुसार डाले चुक उच्च पहाडी तथा तल्लो हिमाली क्षेत्रमा उत्पादन हुन्छ । खासगरी २७ देखि ६९ डिग्री उत्तरी अक्षांश र ७ डिग्री पश्चिमदेखि एक सय २२ डिग्री पूर्वी देशान्तरभित्र पर्ने एसिया तथा युरोपेली क्षेत्रमा उत्पादन गर्न सकिन्छ ।
हंगेरीमा गरिएको अर्को एक अध्ययन अनुसार सघन रुपमा खेती लगाइए बढीमा २४ मे. टन प्रतिहेक्टरका दरले उत्पादन गर्न सकिन्छ ।
विश्व कृषि तथा खाद्य संगठन (एफएओ) का अनुसार डाले चुकमा बढीमा फलको ७० प्रतिशतसम्म रस निस्कन्छ ।
एफएओले आर्मेनियामा डाले चुकबारे वृहत् अध्ययन गरेको छ । उसको अध्ययनलाई आधार मानेर आलकन गर्दा नेपालको माथिल्लो भुगोलको करिब पाँच हजार हेक्टर जमीनमा मात्र डाले चुक लगाए पनि वर्षमा ५० हजार देखि एक लाख २० हजार टन डाले चुकको फल उत्पादन गर्न सकिन्छ ।
यसबाट ३५ हजार टन रस निस्कन्छ । ल भनौं नेपालको जुस सस्तो मानियो रे । त्यसो भए पनि पाँच लाख २५ हजार युरो वा अमेरिकी डलर त कमाइ हुन्छ ।
यसलाई बढाएर लाख हेक्टर बनाइए १५ लाख टन फल आउँछ । पन्ध्र डलर वा युरोकै भाउमा गए पनि वर्षमा ३० करोड अमेरिकी डलर कमाइ हुन्छ । आजको सटहीमा करिब ४५ अर्ब रुपैयाँ कमाइ हुन्छ ।