arrow

पक्राउ पुर्जी जारी भएका मेयर राजेशमानको दादागिरी, खुलेआम अदालत पुगेर गरे स्टन्ट

logo
दीपेन्द्र चौहान,  
प्रकाशित २०८३ जेठ १३ बुधबार
rajeshman-singh-adalat.jpg
तस्बिर : फाइल

वीरगञ्ज। सुशासनको कथा गढेर बनेको बालेन सरकारमा "सानालाई ऐन ठूलालाई चैन" भन्ने उखान चरितार्थ भएको छ। अर्काको छोरीलाई नक्कली कागजातको आधारमा आफ्नो छोरी बनाई नागरिकता दिलाएको अभियोगमा जिल्ला अदालत पर्साले जेठ ८ गते जारी गरेको पक्राउ पुर्जी मंगलबार मात्रै सञ्चार माध्यमबाट जानकारी प्राप्त भएपछि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह आफैँ दलबलसहित पर्सा जिल्ला अदालत खुल्नु अगावै  बुधबार बिहान पुगेका थिए ।

आफ्ना कानूनी सल्लाहकार अधिवक्ता कमलमोहन पोखरेलसहित पर्सा जिल्ला अदालत परिसरमा डुलिरहेको भिडियो सामाजिक सञ्जालमा देखेपछि मेयर सिंहविरुद्ध मुद्दा लडिरहेका लियाकत अली पनि आफ्ना सहयोगीसहित पर्सा जिल्ला अदालतमा पुग्दा मेयर सिंह त्यहाँबाट गइसकेका थिए । 

लियाकत अलीका अनुसार अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकसँग बुझ्दा अदालत खुल्नु अगावै को को आएर के के स्टन्ट गर्छन् त्यसको जवाफदेही अदालत नहुने भनी बताए ।

अलीले श्रेस्तेदार मल्लिकको कुरासँग आफू सन्तुष्ट नभएको भन्दै मेयर सिंह मल्लिकको कोठामा बसेको र कुराकानी गरेर आफ्ना समर्थकहरूसँग बाहिरिएको देख्नेहरूले बताए ।

समाजिक संजालमा मेयरको भिडियो चलेको देखे पछि मुद्दाफाँटका प्रमुख प्रहरी निरीक्षक शैलेन्द्र खड्कालाई मेयर राजेशमान सिंहलाई गिरफ्तारमा गर्न पठाएको तर सो बखत अदालत परिसरबाट मेयर सिंह फरार भएको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले बताए ।

सिंह कानूनभन्दा माथि रहेको र सरोकारवाला कानून लागू गराउनेहरू उनको हित अनुकूल काम गरिरहेको सूचना आम नगरबासीहरूमा प्रवाह भएको आरोप नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति मोहम्मद सहबुद्दिनको रहेको छ । 

यो मुद्दाको प्रक्रियामा सरकारी वकिलले मेयर राजेशमान सिंह र उनकी कान्छी श्रीमती भनिएकी रिता भट्टराईको नाम लुकाउनु गैरकानूनी भएको बार एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष अधिवक्ता बिनय सिंहले बताए । 

सरकारी वकिलको बदनियत देखिएपछि श्रेस्तेदार प्रभाकर मल्लिकले सच्याउनुपर्नेमा त्यो पनि नभएकोले “दाल में कुछ काला है” भन्दै अधिवक्ता सिंहले यो देशमा मुद्दा चल्दा प्रधानमन्त्रीको नाम त लुकाएको छैन मेयर को नाम लुकाउनु पर्ने कुनै तुक नभएको बताए । 

नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मीले यो सम्पूर्ण प्रकरणले कानूनी राज्यको धज्जी उडाएको भन्दै चिन्ता व्यक्त गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ