arrow

अमेरिका–इरान तनाव

फेरि बढ्यो तेलको मूल्य, एसियाली सेयर बजारमा गिरावट

शान्ति सम्झौता नभए 'काम समाप्त गरिने' ट्रम्पको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
petrol-pump.jpeg

काठमाडौँ । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली सेयर बजारमा गिरावट आएको छ। मध्यपूर्व युद्धविराम कमजोर बन्दै गएको सङ्केतसँगै विश्व बजारमा पुनः तनाव देखिएको हो। बुधबार सम्भावित शान्ति सम्झौताप्रति आशा बढेपछि तेलको मूल्य घटेको भए पनि नयाँ घटनाक्रमले उक्त गिरावटलाई धेरै हदसम्म मेटाइदिएको छ। जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण हर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) मार्फत हुने ढुवानी महिनौँदेखि प्रभावित हुँदै आएको छ।

एक अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाले इरानका चारवटा ड्रोन खसाल्नुका साथै दक्षिणी सहर बन्दर अब्बासस्थित एक नियन्त्रण केन्द्रमा समेत आक्रमण गरेको छ। नाम नखुलाउने सर्तमा ती अधिकारीले यस कारबाहीलाई 'सन्तुलित, पूर्ण रूपमा रक्षात्मक र युद्धविराम कायम राख्न लक्षित' रहेको बताएका छन्।

अर्कोतर्फ, इरानको सरकारी सञ्चारमाध्यमले भने इरानी सेनाले जलमार्ग क्षेत्रमा चारवटा जहाजमाथि गोली प्रहार गरेको जनाएको छ। यसैबीच कुवेतले पनि आफ्नो हवाई सुरक्षा प्रणालीले मिसाइल र ड्रोन आक्रमणको जवाफ दिइरहेको स्पष्ट पारेको छ।

यी तीव्र सैन्य घटनाक्रमका बीच एक इरानी अधिकारीले अमेरिका र इरानबीच पुनः ठूलो युद्ध हुने सम्भावना भने कम रहेको बताएका छन्। तर अमेरिकी राष्ट्रपतिले शान्ति सम्झौता नभए 'काम समाप्त गरिने' (फिनिस द जब) चेतावनी दिएका छन्। यसले मध्यपूर्व युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक वार्ताहरू अझै पनि अत्यन्त अस्थिर अवस्थामा रहेको सङ्केत गरेको छ।  जसको प्रत्यक्ष र गम्भीर प्रभाव विश्व ऊर्जा बजारमा परिरहेको छ।

बिहीबार बिहानको कारोबारमा अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य १ दशमलव ८ प्रतिशतले बढेर प्रतिव्यारेल ९५ दशमलव ९५ डलर पुगेको छ। त्यसैगरी, अमेरिकी कच्चा तेलको मूल्य (डब्लुटिआई) पनि १ दशमलव ७ प्रतिशतले वृद्धि भई प्रतिव्यारेल ९० दशमलव १७ डलर पुगेको छ।

ऊर्जा बजारमा आएको यो उछालको विपरीत एसियाली सेयर बजारहरूमा भने तीव्र गिरावट देखिएको छ। बिहीबार अधिकांश देशका मुख्य सूचकाङ्कहरू ओरालो लागेका छन्, जसमा हङकङको प्रमुख सेयर सूचकाङ्क (ह्याङ सङ) १ दशमलव ५ प्रतिशतभन्दा बढीले घटेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ