काठमाडौँ । नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्चमा १९ प्रतिशतले कमी आएको छ। सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार नेपालमा पर्यटकको आगमन बढे पनि उनीहरूले गर्ने दैनिक खर्च भने घटेको देखिएको हो। अर्थमन्त्री डा। स्वर्णीम वाग्लेले बुधबार प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सन् २०२४ मा प्रतिपर्यटक औसत दैनिक खर्च ४० दशमलव ८४ अमेरिकी डलर रहेकामा सन् २०२५ मा त्यो घटेर ३३ दशमलव शून्य आठ अमेरिकी डलरमा सीमित भएको छ।
नेपाल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमारमणि थापलियाका अनुसार नेपाल आउने पर्यटकले हवाई टिकट जस्ता यातायात माध्यममै ३ हजार डलरसम्म खर्चनुपर्ने बाध्यता रहेकाले यहाँ आएर खुलेर खर्च गर्ने रकम कटौती हुने गरेको हो। यसका साथै सन् २०२५ देखि केन्द्रीय विद्युतीय पर्यटन व्यवस्थापन सूचना प्रणाली (सिटिएमआइएस) मार्फत अध्यागमन विभागले पर्यटकको आगमन र प्रस्थान मिति प्रविष्ट गरेपछि स्वचालित रूपमा गणना हुने प्रबन्ध मिलाएकाले पनि प्रतिदिन औसत खर्च सोही अनुपातमा घटेको देखिएको सर्वेक्षणमा उल्लेख छ।
दैनिक खर्च घटे पनि नेपाल आउने पर्यटकको सङ्ख्या र उनीहरूको बसाइ अवधिमा भने सुधार आएको छ। सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक भित्रिएकाकामा सन् २०२५ मा १ दशमलव ३ प्रतिशतले वृद्धि भई ११ लाख ६२ हजार ३६५ पुगेको छ। त्यस्तै, सन् २०२४ मा प्रतिपर्यटक औसत बसाइ अवधि १३ दशमलव ३० दिन रहेकामा सन् २०२५ मा बढेर १६ दशमलव ३४ दिन पुगेको तथ्याङ्कले देखाउँछ।
पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्रबाट प्राप्त हुने भ्रमण आयमा ४ दशमलव ८ प्रतिशतको वृद्धि भई ८३ अर्ब ३९ करोड ४० लाख रुपैयाँ पुगेको छ। नेपाल भित्रिने पर्यटकमध्ये सबैभन्दा बढी ६० दशमलव दुई प्रतिशत बिदा मनाउन र मनोरञ्जनका लागि आउने गरेका छन्। यसबाहेक तीर्थयात्राका लागि १४ दशमलव चार प्रतिशत, पदयात्रा तथा पर्वतारोहणका लागि १४ दशमलव दुई प्रतिशत र व्यापार, अध्ययन जस्ता अन्य विविध प्रयोजनका लागि ११ दशमलव दुई प्रतिशत पर्यटक नेपाल आएका छन्।
देशगत रूपमा हेर्दा सन् २०२५ मा नेपाल आउने पर्यटकमध्ये भारतबाट सबैभन्दा बढी करिब २ लाख ९३ हजार रहेका छन्। त्यसै गरी अमेरिकाबाट १ लाख १३ हजार, चीनबाट ९६ हजार, बेलायतबाट ५९ हजार, बङ्गलादेशबाट ५८ हजार, अष्ट्रेलियाबाट ५० हजार, श्रीलङ्काबाट ३८ हजार, थाइल्यान्डबाट ३० हजार, जर्मनीबाट ३० हजार, जापानबाट २५ हजार र अन्य मुलुकहरूबाट कुल ३ लाख ७१ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्।
पर्यटन क्षेत्रबाट मुलुकको समृद्धिको लक्ष्य हासिल गर्न पर्यटकलाई बढी खर्च गराउने वातावरण सिर्जना गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ। सङ्घका अध्यक्ष थापलियाले बाटो सुविधायुक्त बनाउने, विलासी (लक्जरियस) प्याकेजहरू कार्यान्वयनमा ल्याउने, खर्च गर्ने खालका कलात्मक संरचना निर्माण गर्ने र ट्राभल शुल्क कम गरेमा पर्यटकको खर्च गर्ने आधार बढ्ने सुझाव दिए। त्यस्तै, ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले नेपालमा पर्यटकका लागि गुणस्तरीय किनमेल गर्ने वस्तुको अभाव रहेको औँल्याउँदै पर्यटकको चाहनाअनुसार व्यवस्थित सेवा प्रवाह गर्न र गुणस्तरीय वस्तु उत्पादनमा राज्यले लगानी बढाउनुपर्ने कुरामा जोड दिए।