औषधि लिमिटेडले २५ प्रकारका औषधि उत्पादन गर्ने, त्रिवि शिक्षण अस्पतालसहित तीन संस्थालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
647
Shares
काठमाडौँ । सरकारले नेपाल औषधि लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी सक्षम बनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नागरिकलाई निःशुल्क उपलब्ध गराउँदै आएका औषधिहरूमध्ये २५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न सक्ने गरी लिमिटेडको क्षमता अभिवृद्धि गरिने बताएका हुन्।
बजेटमार्फत स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयू टिचिङ हस्पिटल), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रूपमा विकास गर्ने रणनीति लिइएको छ, जसबाट ती संस्थाहरू विदेशी विद्यार्थीहरूलाई समेत उच्चस्तरीय शिक्षा प्रदान गर्न सक्षम हुनेछन्। यसका साथै सार्वजनिक–सार्वजनिक साझेदारी (पीपीपी) मोडेलअनुरूप देशका सातै वटा प्रदेशमा रहेका अस्पतालहरूलाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रका रूपमा रूपान्तरण गरिनेछ।
स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि अन्य नीतिगत सुधार गर्दै सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानीयोग्य स्रोतलाई अब देशको स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्ने व्यवस्था मिलाएको छ। यसका साथै आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा थप प्रभावकारी रूपमा उपलब्ध गराउनका लागि विद्यमान स्वास्थ्य बीमा कार्यक्रमलाई समेत पूर्ण रूपमा पुनःसंरचना गरिनेछ।