काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज (सोमबार) दिउँसो १ बजे भारत प्रस्थान गर्दै छन्।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने छन्। भ्रमण टोलीमा उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य सामेल छन्।
पार्टी प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्ति अनुसार सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने छन्। उनले भाजपाको शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। यसैबीच उनी व्यक्तिगत भ्रमणका लागि अयोध्या समेत जाने छन्। नयाँदिल्लीस्थित नेपाली दूतावासले यस कार्यक्रमका लागि आवश्यक समन्वय गरिरहेको छ।
भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डा विजय चौथाइवालेले जारी गरेको विज्ञप्ति अनुसार यो भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबीच 'पार्टी-टू-पार्टी' सहकार्य सुरु गर्नु हो। यस क्रममा दुवै दलबीच संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान हुने छ।
आधिकारिक रूपमा तय नभए पनि लामिछाने नेतृत्वको टोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग समेत भेटवार्ता गर्न सक्ने स्रोतले जनाएको छ। फागुन २१ को निर्वाचनमा रास्वपाले झन्डै दुई-तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री मोदीले लामिछानेलाई फोन गरेर बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका थिए। नेपाल-भारतबीचको कूटनीतिक संवाद केही सुस्त देखिएका बेला सत्तारूढ दल रास्वपाको यस भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ।