काठमाडौँ । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सात लाख पाँच हजार पाँच सय कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
यसअघि पहिलो चरणअन्तर्गत वैशाख २१ देखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ८५ हजार कित्ता सेयर निष्काशन गरिएको थियो।
कम्पनीका अनुसार उक्त सेयरको बाँडफाँट सम्पन्न भएपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम पाँच हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आवेदन दिने म्याद छिटोमा असार २ गतेसम्म रहनेछ। सो अवधिमा पर्याप्त आवेदन नपरेमा बिक्री अवधि असार ११ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युयर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयरमार्फत पनि आईपीओ भर्न सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।