कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
210
Shares
काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटकका लागि समय थप गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गते राति १२ बजेसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको हो ।
कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको जनाएको छ । तर, पार्टीका विभिन्न जिम्मा पाएका तहहरूबाट सदस्यता अद्यावधिक गर्न तोकिएको समय अपुग भएको भन्दै म्याद थप्न अनुरोध आएकाले यो निर्णय गरिएको कार्यवाहक मुख्यसचिव दुलालले स्पष्ट पारे ।
"विभिन्न तहबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त हुन आएकाले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकको निर्णयानुसार यो समयावधि आगामी जेठ २८ गते राति १२ बजेसम्मका लागि अन्तिम पटकका लागि कायम गरेका छौँ," उनले भने ।
पार्टी केन्द्रीय कार्यालयले संसद्, प्रदेश र स्थानीय तहका विभिन्न कमिटीहरूलाई तोकिएको यस अन्तिम समयसीमा भित्रै आ-आफ्नो क्षेत्रको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य अनिवार्य रूपमा सम्पन्न गर्न कडा निर्देशन समेत दिएको छ । तोकिएको अवधिभित्र कार्य सम्पन्न नभएमा त्यसको जिम्मेवारी सम्बन्धित समितिले नै लिनुपर्ने पार्टीले जनाएको छ ।