वामपन्थी शक्तिमाथि जनताको आशा अझै कायम छ : माधव नेपाल
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
163
Shares
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधवकुमार नेपालले नेपालको राजनीतिमा वामपन्थी शक्तिहरूले ऐतिहासिक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा पनि वामपन्थी शक्तिको आवश्यकता अझ बढी महसुस गरिएको बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशभक्त, लोकतन्त्रवादी, गणतन्त्र पक्षधर र संविधानका समर्थक सबैको आशा वामपन्थी शक्तिमाथि रहेको बताए।
उनले भने, ‘नेपालको राजनीतिमा वामपन्थी शक्तिहरूले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। आजको समयमा पनि वामपन्थी शक्तिहरूको भूमिकाको आवश्यकता सबैतिर बोध भएको छ। देशभक्त शक्तिहरूले पनि वामपन्थीहरुतिरै आशावादी नजरले हेरिरहेका छन्। लोकतन्त्रवादी, गणतन्त्रका हिमायती, संविधानका पक्षपोषक र आमजनताले पनि आफ्नो पक्षमा आवाज बुलन्द होस् भन्ने अपेक्षा वामपन्थीहरूबाटै गरेका छन्।’
माधवकुमार नेपालले अरूलाई मात्र दोषारोपण गरेर समस्या समाधान नहुने भन्दै वामपन्थी शक्तिले आफ्नै कमजोरीको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए। सोच, नीति, गतिविधि, व्यवहार र जीवनशैलीमा भएका कमजोरीबारे खुला रूपमा समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
उनले भने, ‘अरूलाई आरोप मात्र लगाएर पुग्दैन। कहाँ हामी चुक्यौं, यसको समीक्षा गर्नुपर्छ। हाम्रा सोचहरूमा, नीतिहरूमा, गतिविधिहरूमा, व्यवहारहरूमा र जीवनशैलीमा कहाँ–कहाँ त्रुटि रहे, सबैको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ। खुला मनले बसेर छलफल गरौँ।’
नेपालले विभिन्न समयमा अवलम्बन गरिएका नीतिको पनि समीक्षा गर्न आवश्यक रहेको बताए। शासनसत्तामा पुगेपछि विदेशी शक्तिसामु झुक्नैपर्छ भन्ने मानसिकता त्याग्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय हितका विषयमा दृढतापूर्वक आवाज उठाउन सकिने धारणा राखे।
उनले भने, ‘शासनसत्तामा आउनेबित्तिकै विदेशीका सामु झुक्नैपर्छ भन्ने हुँदैन, आवश्यक छैन। दृढताका साथ आफ्नो आवाज बुलन्द गर्न सकिन्छ। आफ्नो देशको हितको कुरा राख्नेबित्तिकै कुनै समस्या सिर्जना हुँदैन।’
नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका विषयमा विश्वका अनुभवबाट सिकेर अघि बढ्नुपर्ने उल्लेख गर्दै विदेशीलाई खुसी पार्ने प्रवृत्तिका कारण कतिपय गलत निर्णय स्वीकार गर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे।
उनले भने, ‘अन्तर्राष्ट्रिय सम्बन्ध कसरी कायम गर्नुपर्छ भन्ने विषयमा संसारका धेरै अनुभव छन्। ती अनुभवबाट शिक्षा लिएर अघि बढ्न सक्छौँ। अनावश्यक रूपमा विदेशीहरूलाई खुसी पार्ने प्रवृत्तिका कारण कतिपय गलत कुराहरू पनि स्वीकार गर्नुपरेको छ। विदेशी स्वार्थप्रति सचेत रहँदै राम्रो कामलाई राम्रो भन्न सक्नुपर्छ।’