पाँच दिन बेपत्ता भएपछि सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको स्वास्थ्यमा सुधार
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
552
Shares
तस्बिर : फाइल
काठमाडौँ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा शेर्पाको बिहीबार सफल उद्दार गरी काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
ह्याम्स अस्पतालले शुक्रबार विज्ञप्ति जारी गरी लामो समय सगरमाथा क्षेत्रमा बेपत्ता शेर्पालाई जलवियोजन देखिएकाले आईसीयूमा राखेर उपचार भइरहेको जानकारी दिएको छ ।
शेर्पाको दुवै हातका कान्छी औँलामा दोस्रो चरणको फ्रस्टबाइट र दायाँ हातको बुढी तथा माझी औँलामा पहिलो चरणको फ्रस्टबाइट देखिएको अस्पतालले जनाएको छ ।
चिकित्सकीय परीक्षणका क्रममा शेर्पाको दाहिने खुट्टाको तीघ्राको हड्डीमा फ्याक्चर र सोही क्षेत्रको माङ्सपेशीमा रगत जमेको फेला परेको अस्पतालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्माले शेर्पाको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र जलवियोजनको समस्यामा उल्लेख्य सुधार आइरहेको जानकारी दिए ।
चिकित्सकको टोलीले शेर्पाको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गरिरहेको र उनलाई अझै केही दिन आईसीयूमै राखेर उपचार गरिने अस्पतालले जनाएको छ । रासस