arrow

बाथरोगको प्रारम्भिक चरणमै उपचार गरे सहज, ‘र्युमा फ्युजन नेटवर्क’को घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
national-bathrog-centre-83-2-24.jpg

काठमाडौँ । बाथरोगको रोकथाम तथा रोग लागेमा प्रारम्भिक चरणमै उपचार गरेर स्वास्थ्यलाभ गर्न सकिनेमा जोड दिइएको छ । नेशनल बाथरोग सेन्टरको १३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बाथरोग जुनसुकै चरणमा पहिचान गरी उपचार गरेमा सहज रूपमा निको हुने, तर ढिलो गरी उपचार गर्दा मिर्गौला र फोक्सोलगायत महत्वपूर्ण अङ्गमा असर पुग्ने तथा उपचार खर्चसमेत महँगो हुने भएकाले जनचेतना अभिवृद्धि आवश्यक रहेका स्पष्ट पारेको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा पूर्व राजदूत केदारभक्त माथेमाले जीवनको गुणस्तर सुधार गर्न बाथरोगलगायत विभिन्न रोगबारे पर्याप्त जनचेतना फैलाउन आवश्यक रहेको बताए । 

युवा अवस्थामै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएको वर्तमान अवस्थामा स्वस्थ जीवनका लागि जनस्वास्थ्यसम्बन्धी सचेतना अझ प्रभावकारी ढङ्गले विस्तार गर्नुपर्ने बताए । उनले बाथरोग वृद्धवृद्धाहरूमा भन्दा पनि युवापुस्तामा धेरै देखिने हुदाँ यसबाट जुनसुकै पुस्ताका ब्यक्तिहरू सजग रहन आवश्यक रहेको बताए ।

सेन्टरका अध्यक्ष डा विनीत वैद्यले बाथरोग ‘मुसा बनेर छिर्ने र हात्ती बनेर निस्कने’ रोग भएकाले लक्षण देखिनासाथ उपचार शुरू गर्नुपर्ने बताए । सेन्टरले अनुसन्धान, शिक्षा तथा स्वास्थ्य सेवा प्रवाहका क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिए । 

वार्षिकोत्सवकै अवसरमा सेन्टरले ‘र्युमा फ्युजन नेटवर्क’को घोषणा पनि गरेको छ । सरकारी तहबाट बाथरोगको उपचार र यसलाई विमामा जोइन गरिए पनि आवश्यक पर्ने औषधिहरू अझै पनि त्यस्मा समावेश नगर्नु उपयुक्त नभएको डा वैद्यले बताए । 

उनले सरकारले बाथरोगलाई न्यूनीकरण गर्न विशेषगरी महत्त्वपूर्ण रूपमा सचेतना फैलाउन आवश्यक रहको बताए । सेन्टरका प्रबन्ध निर्देशक  रोशन कक्षपतीले अध्यक्ष वैद्यको नेतृत्वमा गरिएको अनुसन्धानले बाथरोग प्रारम्भिक अवस्थामै पहिचान गर्न सकिने पुष्टि गरेको बताए । 

बाथरोगबारे आमसञ्चार माध्यम तथा सम्बन्धित निकायमार्फत अझ व्यापक जनचेतना फैलाउनुपर्नेमा उनले जोड दिए । उनले १३ वर्ष अगाडि बाथ रोगको उपचार कसरी गर्ने र जनचेतनाको अभावका कारणले बाथरोगबाट ग्रसित मानिसहरूलाई कसरी कहाँ गएर के गर्ने ? कसरी उपचार गर्ने ? के गर्दा यो दीर्घकालीन रोगको सही उपचार गर्न सकिन्छ भन्ने तर्फ अग्रसर भएको जानकारी दिए ।

कार्यक्रममा कुटुम्ब ब्याण्डका पवित महर्जनले बाथरोगसम्बन्धी जनचेतना अभिवृद्धिका लागि ब्याण्डको तर्फबाट सहयोग भइरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा सेन्टरका पोखरा शाखा प्रमुख कृष्ण ढकाल, मानव संसाधन विभागकी पवित्रा कार्कीलगायत वक्ताले बाथरोगबाट आम नेपालीलाई जोगाउन जनचेतना नै सबैभन्दा प्रभावकारी माध्यम भएको बताए । 

कार्यक्रममा सेन्टरमा दीर्घ सेवा गरेका कर्मचारी तथा व्यक्तित्वलाई सम्मान गरिएको थियो ।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ