इजरायली आक्रमणमा तीन सैनिकसहित १४ लेबनानीको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
591
Shares
काठमाडौँ । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ, जसमा तीन जना लेबनानी सैनिक पनि परेका छन् ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले सैन्य टोली र सर्वसाधारणलाई लक्षित गर्दै हवाई आक्रमण गरेको बताइएको छ ।
लेबनानी सेनाका अनुसार नबातिया क्षेत्रको खार्दाली-कफार तेबनित सडकमा गस्ती गरिरहेको सैन्य सवारी साधनमा आक्रमण हुँदा तीन सैनिकको मृत्यु भएको हो । इजरायली रक्षा बलले घटनाबारे चासो व्यक्त गर्दै अनुसन्धान शुरू गरिएको जनाएको छ ।
आईडीएफले उक्त सवारी साधन सक्रिय युद्ध क्षेत्रमा देखिएको र हिजबुल्लाहको खतरासम्बन्धी सूचनाका आधारमा कारबाही गरिएको दाबी गरेको छ ।
साथै, इजरायलले आफ्नो सैन्य कारबाही हिजबुल्लाह विरुद्ध मात्र केन्द्रित रहेको र लेबनानी सेना निशानामा नरहेको स्पष्ट पारेको छ ।
यसैबीच, लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम बलले उक्त आक्रमणको कडा शब्दमा भत्र्सना गरेको छ। युनिफिलले यसलाई लेबनानको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ को गम्भीर उल्लंघन भएको बताएको छ ।
लेबनानी संसदका सभामुख नबिह बेरीले इजरायली दाबी अस्वीकार गर्दै घटनालाई प्राविधिक गल्ती नभई योजनाबद्ध आक्रमण भएको दाबी गरेका छन् ।
अन्य क्षेत्रमा भएका आक्रमणहरूमा सिडोनको साकसाकिया शहरमा छ जनाको मृत्यु भएको छ भने देइर अल-जहरानी राजमार्ग, हारौफ, जुआईया र अब्बासियामा थप पाँच जनाको ज्यान गएको विवरण सार्वजनिक भएको छ ।
इजरायली सेनाले जेजिन जिल्ला र अन्सारिया क्षेत्रका गाउँबासीलाई सुरक्षित स्थानतर्फ जान निर्देशन (इभाकुएसन अर्डर) समेत जारी गरेको छ । आईडीएफका अनुसार सप्ताहन्तमा दक्षिण लेबनानमा हिजबुल्लाहका १५० भन्दा बढी सैन्य पूर्वाधार, हतियार भण्डार, कमान्ड सेन्टर र रकेट लन्चरमा आक्रमण गरिएको छ ।
यता, हिजबुल्लाहले सार्किया क्षेत्रमा इजरायली हर्मिस ४५० ड्रोनलाई आफ्नो क्षेत्रमा प्रवेशबाट रोकिएको दाबी गरेको छ । यसबारे इजरायली सेनाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
लेबनानको सार्वजनिक स्वास्थ्य संकटकालीन सञ्चालन केन्द्रका अनुसार गत अक्टोबरदेखि हालसम्म इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या तीन हजार ५९३ पुगेको छ भने १० हजार ९९० जना घाइते भएका छन् ।