संयम र अनुशासनको आवश्यकता पार्टीमा खड्केको भन्दै महामन्त्री बुर्लाकोटी चिन्तित
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
248
Shares
फाइल तस्बिर
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई संयमित, जिम्मेवार र अनुशासित भएर काम गर्न आग्रह गरेका छन्।
रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले छोटो समयमै पार्टीले देश निर्माणको महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेको उल्लेख गर्दै संगठनलाई थप व्यवस्थित, परिपक्व र अनुशासित बनाउनुपर्ने बताए।
‘अधिवेशनले नीति र नेतृत्वलाई खार्दै लैजान्छ। हामी महाधिवेशनको तयारीमा छौँ र बृहत्तर पार्टी निर्माणको अभियानमा लागेका छौँ। एक समय हामी धेरै भोकाएका थियौँ, अहिले मोटाएका छौँ। अब धेरै विषयमा संयम अपनाउनुपर्छ। हामी संयमित रहन सक्यौँ भने पार्टी कहिल्यै कमजोर हुँदैन,’ उनले भने।
बुर्लाकोटीले रास्वपा कुनै एक व्यक्तिका लागि स्थापित नभई सम्पूर्ण नेपाली नागरिकको साझा राजनीतिक अभियान भएको बताए। देशको भविष्य निर्माण गर्ने उद्देश्यले पार्टीमा आबद्ध भएकाले सबैले आफ्नो जिम्मेवारी र मर्यादाभित्र रहेर काम गर्नुपर्ने उनको भनाइ थियो।
उनले इमानदार र सक्षम कार्यकर्तालाई पार्टीले सधैँ उचित जिम्मेवारी दिने उल्लेख गर्दै अधिवेशनबाट पद नपाए पनि योग्य व्यक्तिलाई विधिसम्मत रूपमा काम गर्ने अवसर उपलब्ध गराइने बताए।
कार्यक्रममा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी र सरकारबीच कुनै समस्या नरहेको दाबी गरे। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र साहबीच जिम्मेवारी बाँडफाँट गरेर पार्टी संगठन र सरकार सञ्चालनलाई व्यवस्थित गरिएको उनले बताए।
पराजुलीले रास्वपाको लामो राजनीतिक इतिहास नभए पनि राष्ट्र निर्माणको स्पष्ट उद्देश्यका साथ पार्टी अघि बढिरहेको धारणा राखे।
प्रतिनिधिसभा सदस्य तथा पार्टी सचिवालय सदस्य सागर ढकालले देशमा परिवर्तन र कायापलट गर्ने लक्ष्यसहित रास्वपा स्थापना भएको उल्लेख गर्दै पद र जिम्मेवारीलाई प्रतिष्ठाको विषय नबनाउन कार्यकर्तालाई आग्रह गरे।
रास्वपा गण्डकी प्रदेशका सभापति राजन गौतमले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन पहिलो प्राथमिकता रहेको जानकारी दिए।
उनका अनुसार गण्डकी प्रदेशका ६४ पालिका, ५५५ वडा र नौ ओटै जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने प्रदेश अधिवेशनमा ७३५ प्रतिनिधि सहभागी छन्। अधिवेशनले नयाँ प्रदेश नेतृत्व चयन गर्ने कार्यतालिका तय गरेको छ।