मलेखु-मुग्लिङ सडकमा कालोपत्रको तयारी, असारभित्र तीन किलोमिटर सक्ने लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
118
Shares
फाइल तस्बिर
चितवन। पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडकखण्डमा कालोपत्र (अस्फाल्ट) गर्ने काम पुनः शुरू हुने भएको छ।अलकत्राको अभावका कारण केही समय रोकिएको काम आवश्यक सामग्री उपलब्ध भएसँगै अघि बढाउन लागिएको हो।
नागढुङ्गा-मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुग्दीदेखि जवाङ खोलासम्मको खण्डमा कालोपत्रको तयारी शुरू गरिएको छ। उनका अनुसार ३० टन अलकत्रा आइसकेको छ र यही ५ गतेदेखि कालोपत्रको काम औपचारिक रूपमा शुरू हुनेछ।
तत्काल उक्त खण्डमा करिब सात सय मिटर सडक कालोपत्र गरिने योजना छ भने असार महिनाभित्र थप तीन किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको छ।
सो खण्डमा रहेका छमध्ये चार ओटा पुलको काम अन्तिम चरणमा पुगेको छ। वारवाङ, मौवा, खटौटी र गोमती खोलाका पुलको संरचनात्मक काम सकिने चरणमा पुगेको भए पनि ती पुललाई सडकसँग जोड्ने पहुँच मार्ग र कालोपत्रको काम भने बाँकी रहेको छ।
आयोजनाका अनुसार हालसम्म मलेखु-मुग्लिङ खण्डमा करिब ४३ प्रतिशत भौतिक प्रगति भएको छ। कुल ३८दशमलव८६ किलोमिटर लामो यो खण्डको स्तरोन्नति शर्मा-जेड आईसीजी संयुक्त कम्पनीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा गरिरहेको हो।
विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यो सडक काठमाडौँ प्रवेश गर्ने र बाहिरिने प्रमुख नाकामध्ये एक भएकाले यसलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।
निर्माणको समयसीमा गत डिसेम्बर २८ मा सकिए पनि १८३ दिन म्याद थप गरिएको आयोजना कार्यालयले जनाएको छ। रासस