arrow

मलेखु-मुग्लिङ सडकमा कालोपत्रको तयारी, असारभित्र तीन किलोमिटर सक्ने लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
pokhara-mugling-road-pich.jpg
फाइल तस्बिर

चितवन। पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडकखण्डमा कालोपत्र (अस्फाल्ट) गर्ने काम पुनः शुरू हुने भएको छ।अलकत्राको अभावका कारण केही समय रोकिएको काम आवश्यक सामग्री उपलब्ध भएसँगै अघि बढाउन लागिएको हो।

नागढुङ्गा-मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुग्दीदेखि जवाङ खोलासम्मको खण्डमा कालोपत्रको तयारी शुरू गरिएको छ। उनका अनुसार ३० टन अलकत्रा आइसकेको छ र यही ५ गतेदेखि कालोपत्रको काम औपचारिक रूपमा शुरू हुनेछ।

तत्काल उक्त खण्डमा करिब सात सय मिटर सडक कालोपत्र गरिने योजना छ भने असार महिनाभित्र थप तीन किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको छ।

सो खण्डमा रहेका छमध्ये चार ओटा पुलको काम अन्तिम चरणमा पुगेको छ। वारवाङ, मौवा, खटौटी र गोमती खोलाका पुलको संरचनात्मक काम सकिने चरणमा पुगेको भए पनि ती पुललाई सडकसँग जोड्ने पहुँच मार्ग र कालोपत्रको काम भने बाँकी रहेको छ।

आयोजनाका अनुसार हालसम्म मलेखु-मुग्लिङ खण्डमा करिब ४३ प्रतिशत भौतिक प्रगति भएको छ। कुल ३८दशमलव८६ किलोमिटर लामो यो खण्डको स्तरोन्नति शर्मा-जेड आईसीजी संयुक्त कम्पनीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा गरिरहेको हो।

विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यो सडक काठमाडौँ प्रवेश गर्ने र बाहिरिने प्रमुख नाकामध्ये एक भएकाले यसलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

निर्माणको समयसीमा गत डिसेम्बर २८ मा सकिए पनि १८३ दिन म्याद थप गरिएको आयोजना कार्यालयले जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ