नेपाललाई दक्षिण एशियाकै शिक्षा हब बनाउन सकिन्छ : उमेश श्रेष्ठ
निजी क्षेत्रलाई निरुत्साहित होइन प्रोत्साहन चाहिन्छ
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
317
Shares
काठमाडौँ। शिक्षा उद्यमी तथा हिसान र प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठले नेपाललाई दक्षिण एशियाकै शिक्षा, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को हबका रूपमा विकास गर्न सकिने बताएका छन्।
सही नीति र लगानीमैत्री वातावरण निर्माण गर्न सके शिक्षा क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने उनको भनाइ छ।
मंगलबार ललितपुरमा आयोजित ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयमा बोल्दै श्रेष्ठले विश्वका सफल अभ्यासबाट सिकेर नेपालले पनि शिक्षा क्षेत्रमा दीर्घकालीन नीति बनाउनुपर्ने बताए।
उनले गुणस्तरीय शिक्षाको अभावका कारण निजी विद्यालयप्रति आकर्षण बढेको उल्लेख गर्दै निजी क्षेत्रलाई प्रोत्साहनसँगै सरकारी विद्यालयको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिए।
“अब बन्ने शिक्षा ऐन लगानीमैत्री र निजी क्षेत्रमैत्री हुनुपर्छ। नेपाललाई किन दक्षिण एशियाको शिक्षा हब नबनाउने ?” उनले प्रश्न गरे।
श्रेष्ठका अनुसार देशमा रहेका २८ हजार सार्वजनिक विद्यालयमध्ये करिब १० हजार विद्यालयमा आधा विद्यार्थीसमेत छैनन्, जसले शिक्षक दरबन्दी व्यवस्थापनमा समस्या सिर्जना गरेको छ। उनले शिक्षामा गुणस्तर अभिवृद्धि नै मुख्य चुनौती रहेको बताए।
उनले वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी नेपाली विद्यार्थीको शिक्षामा विदेशिने गरेको तथ्य प्रस्तुत गर्दै निजी क्षेत्रले देशभित्रै शिक्षामा सात खर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको बताए।
४८ ओटा इन्जिनियरिङ कलेजलगायत उच्च शिक्षाका संस्थामा निजी क्षेत्रको ठूलो योगदान रहेको उल्लेख गर्दै सरकारले यस क्षेत्रका लागि स्पष्ट र दीर्घकालीन नीति ल्याउनुपर्ने उनको माग थियो।
शिक्षा र स्वास्थ्य क्षेत्रमा कर तथा शुल्क लगाउने नीतिको आलोचना गर्दै श्रेष्ठले निजी क्षेत्रलाई निरुत्साहित गर्ने होइन, संरक्षण र प्रोत्साहन गर्नुपर्ने धारणा राखे।