काठमाडौँ । संयुक्त राज्य अमेरिका वा उसका साझेदार राष्ट्रहरूले बदनियतपूर्वक काम गरेमा, वार्ताका लागि भर्खरै तय गरिएको रूपरेखा (फ्रेमवर्क) उल्लंघन गरेमा वा थप मागहरू अघि सारेमा तेहरानले कडा जवाफ दिने चेतावनी इरानले दिएको छ। इरानका शीर्ष वार्ताकार एवं संसदका सभामुख मोहम्मद बगेर गालिबाफले विपक्षी पक्षबाट हुने सम्झौता विपरीतका गतिविधि सह्य नहुने स्पष्ट पारेका हुन्।
सामाजिक सञ्जाल एक्स (ट्विटर) मा पोस्ट गर्दै सभामुख गालिबाफले इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले अघि सारेका सर्तहरू पालना गर्न आफूहरू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरे। सम्झौता उल्लंघन भएमा कडा रूपमा प्रस्तुत हुने चेतावनी दिँदै उनले भने, ‘हामी कमान्डमा छौँ; विपक्षी पक्षबाट बदनियत वा थप माग आएमा हामी शत्रुलाई कडा जवाफ दिन हिचकिचाउने छैनौँ।’
यो चेतावनी अमेरिका र इरानबीच प्रतिबन्धहरू फुकुवा गर्ने, आणविक प्रतिबन्ध, मिसाइल क्षमता र क्षेत्रीय सुरक्षाका विषयहरू समेटेर व्यापक सम्झौता गर्ने उद्देश्यका साथ सुरु भएको ६० दिने वार्ता अवधिको पृष्ठभूमिमा आएको हो। यसअघि इरानी सर्वोच्च नेता मोज्ताबा खामेनीले पनि भविष्यमा हुने आमनेसामने वार्तालाई अमेरिकी अडानको स्वीकारोक्तिका रूपमा नलिन स्पष्ट पारिसकेका छन्।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जुन १८ देखि औपचारिक ६० दिने वार्ताको समयसीमा सुरु भएको पुष्टि गरेका छन्। सम्झौताको बचाउ गर्दै उपराष्ट्रपति भान्सले अमेरिकाले इरानको वैध आत्मरक्षाको अधिकारलाई कायम राख्दै उसको सैन्य क्षमतालाई उल्लेखनीय रूपमा कमजोर बनाएको दाबी गरे।
भान्सले यो वार्ता र सम्झौताको रूपरेखालाई ऊर्जा बजार र सामुद्रिक सुरक्षाको सुधारसँग पनि जोडेका छन्। उनका अनुसार स्ट्रेट अफ होर्मुजबाट एकै रातमा १२.५ मिलियन ब्यारेल भन्दा बढी तेल ओसारपसार भएको छ, जुन द्वन्द्व सुरु भएयताकै उच्च परिमाण हो। प्रतिबन्धहरू खुकुलो हुँदा र ढुवानी मार्गहरू पुनः सुचारु हुँदा विश्व बजारमा तेलको मूल्य घटेको र यसले अमेरिकी बजारमा समेत सकारात्मक आर्थिक प्रभाव पारेको उनको भनाइ छ।