arrow

जनमत पाउन बेथितिविरुद्ध खरो उत्रिनै पर्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
barsaman-05.jpg

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनताका मुद्दामा खरो उत्रिने र अन्यायका विरुद्ध लड्ने राजनीतिक शक्तिलाई मात्रै जनमत प्राप्त हुने कुरा बताएका छन् । शनिबार पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले नेपाली जनताको मनोविज्ञान सधैँ विसंगति र बेथितिका विरुद्ध लड्ने शक्तिको पक्षमा रहने उल्लेख गरे। देशमा अझै पनि गरिबी, शोषण, अन्याय र विभेदका खाडलहरू कायमै रहेको चर्चा गर्दै उनले राजनीतिक दलहरूले जनताको पक्षमा संघर्ष जारी राख्नुपर्नेमा जोड दिए।

पछिल्लो निर्वाचनमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको जनमतलाई नेता पुनले जनताको विसंगति विरोधी मनोविज्ञानको ठुलो उदाहरणका रूपमा प्रस्तुत गरे। मान्छेले नयाँ शक्ति शासन सत्ताका विरुद्ध लड्छ भन्ने बुझेर नै भोट दिएको भन्दै उनले नेपाली जनताले सधैँ लड्ने शक्तिलाई नै विश्वास गर्ने स्पष्ट पारे। यसै गरी, पछिल्लो समय मजदुर संगठन वा युनियनहरू खारेज गर्ने तयारी भइरहेको प्रति असन्तुष्टि व्यक्त गर्दै उनले यसलाई अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक हकमाथिको प्रहारका रूपमा चित्रण गरे। युनियन बनाउन पाउनु संवैधानिक अधिकार भएको उल्लेख गर्दै उनले यस्ता अधिकार खोसिँदा पनि राजनीतिक दलहरू चुपचाप बसे जनताले विश्वास नगर्ने चेतावनी दिए।

वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै नेता पुनले संसद्लाई बेवास्ता गर्ने र बहुमत हुँदाहुँदै पनि अध्यादेशमार्फत शासन चलाउन खोज्ने प्रवृत्ति देखिएको आरोप लगाए। सरकार गठन भएको १०० दिन नपुगेका कारण अहिले नै पूर्ण मूल्याङ्कन नगरे पनि राष्ट्रघात र जनघातका मामिलामा मौन बस्न नसकिने उनको स्पष्टोक्ति थियो। भारतसँगको सीमा विवादका विषयमा देशभक्त जनता सडकमा आउनुपर्ने भन्दै उनले राष्ट्रका पक्षमा लड्नेहरू नै वर्तमान सरकारको विकल्प बन्न सक्ने दाबी गरे। विगतको इतिहास स्मरण गराउँदै उनले राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा खुसी मनाउनेहरूले नै पछि उनलाई सडकबाटै विस्थापित गरेको तथ्य भुल्न नहुने बताए।

हाल प्रतिनिधि सभामा पार्टीको १७ सिट मात्र रहेको उल्लेख गर्दै नेता पुनले जनतालाई सही ढङ्गले प्रशिक्षित र सङ्गठित गर्न सके कम्युनिस्ट शक्ति पुनः स्थापित हुनेमा कुनै द्विविधा नरहेको दाबी गरे। क्रान्तिकारी पार्टीले उकासेर माथि ल्याएको मध्यम वर्गलाई निरन्तर क्रान्तिकारी विचार प्रवाह नगरिएमा त्यो वर्ग प्रतिक्रान्तिको सहयोगी बन्न सक्ने जोखिम समेत उनले औँल्याए। वैदेशिक रोजगारीका कारण नेपाली समाज र मानिसको चेतनामा ठुलो परिवर्तन आइरहेको भन्दै उनले भूमण्डलीकरण र डिजिटल पुँजीवादले सिर्जना गरेका चुनौतीहरूबारे सचेत गराए। पुँजीवादले धेरैजसो कुरालाई डिजिटल तथा भर्चुअल रूपमा नियन्त्रण गरिरहेको हुँदा यसलाई श्रमजीवी जनताको पक्षमा उपयोग गर्न सक्नुपर्ने उनको भनाइ थियो। नेता पुनले वर्तमान विश्वको बदलिँदो स्वरूप र भौतिक अवस्थालाई सही ढङ्गले विश्लेषण गरी जनताको पक्षमा काम गर्न नसके आन्दोलनले ठुलो क्षति व्यहोर्नुपर्ने चेतावनी समेत दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ