केसीसीको एघारौँ म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
221
Shares
काठमाडौँ । पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बद्ध कान्तिपुर सिटी कलेज (केसीसी) ले बीबीए संकायका विद्यार्थीहरूले तयार पारेको म्यानेजमेन्ट स्कोलर्स म्यागेजिनको ११ औं संस्करणको विमोचन गरेको छ ।
केसीसी कलेज हलमा भएको विमोचन कार्यक्रममा प्रमुख अतिथि नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डे, विशेष अतिथि केसीसीका अध्यक्ष सुमन कटवाल, म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका महासचिव इन्द्र कुमार श्रेष्ठ, रेडियो नेपालका उपनिर्देशक डा.जनार्दन बिष्ट र प्रिन्सिपल राजु कट्टेलद्घारा संयुक्त रूपमा म्यागेजिन विमोचन गरिएको थियो ।
म्यागेजिनको समीक्षा गर्दै डा.जनार्दन विष्टले म्यागेजिनको विषयवस्तुले सबै क्षेत्रलाई समेटिएको र म्यागेजिनमा रहेको असफलताको कथा विशेष रहेको बताए । त्यसैगरी म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका महासचिव इन्द्रकुमार श्रेष्ठले कक्षामा लिएको ज्ञानले वास्तविक जीवनमा प्रयोग गर्न धेरै सहयोग गरेको बताए ।
विशेष अतिथि केसीसीका अध्यक्ष सुमन कटवालले म्यागेजिनले विद्यार्थीको सोचलाई योजनामा पुर्याउने ज्ञानका विकाश गरेको र नवउद्यम व्यवसाय चालु गर्नेबारे राम्रो अनुभव दिएको बताए ।
साथै कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले आजको नवउद्यम सोचभएका विद्यार्थीले समाज र देशलाई कसरी योगदान गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्ने बताए ।
कार्यक्रममा अन्य वक्ताहरूले विद्यार्थीहरूले कक्षाभित्र सिकेका कुराहरू व्यवहारमा कसरी लागू गर्ने भन्ने कुरामा म्यागेजिनले सहयोग पुर्याएको बताए । अतिथिहरूले विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।
केसीसीका प्रिन्सिपल राजु कट्टेलले विद्यार्थीहरूको सफ्ट स्किल्स विकासमा कलेजले सहयोग गरिरहेको र म्यागेजिनलाई अनुसन्धानमूलक बनाउने र अनलाइनमा लैजाने तयारी भएको बताए ।
बीबीए शौक्षिक कार्यक्रमको अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई मुख्य जिम्मेवारी दिई व्यवस्थापन तथा लेखन शिप बढ्ने अभिप्रायले प्रत्येक वर्ष म्यानेजमेन्ट स्कलरस् म्याग्जिन प्रकाशित हुने गरेको व्यवस्थापन संकाय प्रमुख पूजा पोख्रेलले बताइन् ।
विश्वविद्यालय अनुदान आयोगद्वारा क्युऐऐ प्राप्त कलेजले सन् २००५ देखि बीबीए कार्यक्रम संचालन गर्दै आएको छ । यो बीबीए अध्ययनमा एक अग्रणी संस्था मानिन्छ ।
बीबीए २०२१ ब्याचले आयोजना गरेको विमोचन कार्यक्रममा विद्यार्थी, शिक्षक, प्राध्यापक, विभागिय प्रमुख साथै पत्रकारहरूकोसमेत उपस्थिति थियो ।