arrow

रास्वपा महाधिवेशनले चितवन र गैँडाकोटका होटल भरिभराउ

बेसिजनमा पनि व्यवसायी उत्साहित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
sauraha-tourist.jpeg

काठमाडौँ । सामान्यतया असारदेखि भदौ महिनासम्म बाह्य पर्यटकको चहलपहल कम हुने सौराहाका होटलहरूले आफ्ना कर्मचारीलाई बिदा दिने गर्दथे। सुरक्षा र सरसफाइमा खटिनेबाहेक अन्य कर्मचारीले यो बेला बिदा पाउँथे। तर यस वर्ष भने असारको पहिलो साता सकिनै लाग्दा सौराहाका होटलहरू मुख्य ‘सिजन’मा जस्तै पर्यटकले भरिभराउ छन् र कोठा पाउन समेत कठिन हुन थालेको छ।

सौराहासहित भरतपुर र आसपासका होटल व्यवसायमा देखिएको यो उत्साहजनक भीडभाडको मुख्य कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन हो। प्रतिनिधिसभा निर्वाचनमा हालै दुई तिहाइ नजिकको सिट जितेर सबैभन्दा ठूलो राजनीतिक दल बनेको रास्वपाको तीन दिने महाधिवेशन आजदेखि भरतपुरमा सुरु हुँदै छ। यसै कारण बढेको चहलपहलले चितवनका होटल व्यवसायीहरू निकै खुसी देखिएका छन्।

होटल व्यवसायी सङ्घ चितवनका अनुसार महाधिवेशनमा भाग लिन आउने ४ हजार २११ जना प्रतिनिधि, स्वदेशी तथा विदेशी पर्यवेक्षक, शुभेच्छुक, सञ्चारकर्मी र नेता-कार्यकर्ताहरूको ठूलो उपस्थितिका कारण बजार चलायमान भएको हो।

क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष गुणराज थपलियाका अनुसार अहिले बेमौसममा पनि अपेक्षा गरेभन्दा बढी पर्यटक बढेका छन्। सौराहाका करिब १५० होटलमा ७ हजार जना बस्न सक्ने क्षमता छ। विगतका वर्षहरूमा यतिबेला होटलहरू ४० प्रतिशत मात्र भरिने गरेकोमा अहिले ८० प्रतिशतभन्दा बढी कोठाहरू बुकिङ भइसकेका छन्।

सौराहाको होटल भिष्टाका सञ्चालक रमेश सिलवाल र रेष्टुरेन्ट व्यवसायी दीपेन्द्र खतिवडाका अनुसार महाधिवेशनस्थल भरतपुरबाट केही टाढा भए पनि पर्यटकीय क्षेत्र भएकाले सौराहा घुम्न र बस्न आउनेहरूको सङ्ख्या उल्लेख्य छ।

महाधिवेशनको मुख्य केन्द्र रहेको भरतपुरका स्तरीय होटलहरू विगत दुई दिनदेखि पूर्ण रूपमा भरिएका छन्। भरतपुर गार्डेनका महाप्रबन्धक घनश्याम चापागाईंले महाधिवेशन अवधिभरका लागि होटलमा कुनै कोठा खाली नभएको जानकारी दिए।

यस्तै, महाधिवेशनअघि रास्वपाको केन्द्रीय समिति बैठक बसेको दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक रमेश अधिकारीले झन्डै एक हप्ता अघिदेखि नै होटलमा चहलपहल पूर्ण रहेको बताए। चितवन मात्र नभएर नारायणी नदीपारि नवलपरासीको गैँडाकोटमा रहेका होटलहरू पनि भरिएका छन्। गैँडाकोटको ‘द नारायणी रिसोर्ट’का प्रबन्ध निर्देशक रविन पण्डितले आफ्ना दुईवटै होटल तीन दिनदेखि प्याक रहेको जनाए।

रास्वपाको भोजन तथा आवास उपसमितिका संयोजक राजन गौतमका अनुसार महाधिवेशनका क्रममा करिब १० हजार मानिस चितवन आएका छन्। धेरैजसो प्रतिनिधिहरूले घुमघाम पनि हुने भन्दै परिवारसहित (श्रीमती र छोराछोरी) आएकाले होटलहरूमा चाप बढेको हो।

सहभागीहरूले आफ्नो आवास खर्च आफैँ बेहोर्ने र आयोजकले सोमबारको बन्दसत्रमा मात्र खानाको व्यवस्था गरेकाले स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायले यसबाट प्रत्यक्ष लाभ लिएका छन्। व्यवसायीहरूले पनि महाधिवेशनमा आउने पाहुनाहरूका लागि अन्य समयको तुलनामा सहुलियत दरमा कोठा र खानाको व्यवस्था मिलाएको रास्वपाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ