मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे मन्त्री चौधरीको छलफल
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
245
Shares
चितवन । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरेकी छन् ।
रास्वपा महाधिवेशनसँगै चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान तथा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे विस्तृत जानकारी लिएकी हुन् ।
भ्रमणका क्रममा उनले वन्यजन्तु र मानवबीच सहअस्तित्व कायम गर्न सरकारले आवश्यक कदम दृढताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित ‘टाइगर सेन्चुरी’ निर्माण स्थलको स्थलगत अवलोकन पनि गरेकी छन् ।
सरकारले देवनगरमा करिब ५० हेक्टर क्षेत्रफलमा टाइगर सेन्चुरी निर्माण गर्ने योजना अघि सारेको छ ।
देशभर करिब एक दर्जनभन्दा बढी समस्याग्रस्त बाघहरू इन्क्लोजरमा राखिँदै आएको र तिनको व्यवस्थापन खर्चिलो बन्दै गएको पृष्ठभूमिमा यस्तो संरचना आवश्यक भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री चौधरीले टाइगर सेन्चुरी निर्माण भएमा समस्याग्रस्त तथा घाइते बाघहरूले प्राकृतिक वातावरण पाउने मात्र नभई पर्यापर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
उनले चितवनको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रको अवलोकन गर्दै माउ तथा छावाहरूको स्वास्थ्य, आहारा व्यवस्थापन र कार्यक्षेत्रका चुनौतीबारे जानकारी लिइन्। ३३ वर्षको अवधिमा ६८ ओटा हात्तीका छावाहरू जन्माएर केन्द्रले संरक्षणमा योगदान दिएको मन्त्रालयले जनाएको छ ।
मन्त्री चौधरीले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको भ्रमण गर्दै घडियाल प्रजनन् केन्द्रको पनि निरीक्षण गरेकी छन् ।
उनले घडियाल गोही संरक्षण तथा संख्या वृद्धिका कार्यक्रमले नदी तटीय क्षेत्रको पारिस्थितिकीय प्रणाली सुधारमा महत्वपूर्ण योगदान दिएको बताइन् ।
चितवनको टिकौलीस्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा कृष्णसार स्थानान्तरणका लागि भइरहेको तयारीको पनि मन्त्रालय टोलीले निरीक्षण गरेको छ ।
पर्यापर्यटन तथा संरक्षणका उद्देश्यसहित कृष्णसार स्थानान्तरण गर्ने तयारी भइरहेको छ। मन्त्री चौधरीले कृष्णसारको सुरक्षित बसोबास सुनिश्चित गर्न निर्देशन दिएकी छन् ।
त्यसैगरी उनले टिकौलीस्थित सशस्त्र वन रक्षक तालिम केन्द्रको निरीक्षण गर्दै वन रक्षकहरूको क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार सुधार र वन्यजन्तु अपराध नियन्त्रणका लागि तालिम आधुनिकीकरण गर्नुपर्नेमा जोड दिइन् ।
अनुसन्धान तथा प्रविधि क्षेत्रको अवलोकन गर्दै मन्त्री चौधरीले राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत चितवनमा रहेको अत्याधुनिक वन्यजन्तु जेनोमिक प्रयोगशालाको पनि भ्रमण गरेकी छन् ।
उनले वन्यजन्तुको आनुवंशिक अध्ययन र वैज्ञानिक अनुसन्धानमा आधारित संरक्षण नीति निर्माणका लागि उक्त प्रयोगशाला महत्वपूर्ण रहेको बताइन् ।
भ्रमणका क्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख, डिभिजन वन कार्यालय चितवनका प्रमुख तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवसहित उच्च अधिकारीहरूको उपस्थिति थियो ।
मन्त्री चौधरीले संरक्षणका विविध आयाम र नीतिगत सुधारका विषयमा निर्देशन दिँदै समुदायमा आधारित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
स्थानीयसँगको अन्तरक्रियामा उनले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गरी सहअस्तित्व कायम गर्न सरकारले राहत, उद्धार र दीर्घकालीन पूर्वाधारका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाइन् ।