arrow

रास्वपा प्रथम महाधिवेशन

रास्वपाको एक्सप्रेस गाडीमा लाग्यो ब्रेक, बन्द सत्र शुरू नहुँदा आक्रोश

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
rsp-83-3-8-bbbb.jpg

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक्सप्रेस गाडीमा ब्रेक लाग्दा तीव्र असन्तुष्टि मच्चिएको छ । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) सहित सिंगो पार्टीको मन्त्रिमण्डल र पार्टी नै लाग्दासमेत आन्तरिक तालमेल मिलाउन नसक्दा प्रथम महाधिवेशनको बन्द सत्र अहिलेसम्म शुरू हुन सकेको छ । 

सोमबार बिहान साढे ८ बजे हुनुपर्ने महाधिवेशनको बन्द सत्र २४  घण्टा बित्न लाग्दासमेत शुरू हुन नसकेको हो । पार्टीले प्राविधिक कारण र अपेक्षा गरेभन्दा धेरै प्रतिनिधिहरू आएकाले समस्या भएको भनेर गैरजिम्मेवारी सूचना बाहिर ल्याएको भए पनि लोकतान्त्रिक पार्टीमा हुकुमी पाराले चुनाव प्रभावित पार्न खोजिएसँगै आक्रोश बढेको पाइएको हो । 

मंगलबार बिहान ७ बजेदेखि नै बन्द सत्र शुरू हुने भनिए पनि प्रतिनिधि परिचय पत्र वितरण कार्य हुन थाल्दा बन्द सत्र भने करिब १० बजेको आसपासमात्र शुरू हुन सक्ने अनुमान गरिएको छ । 

पार्टीका प्रवक्ता मनिष झाका अनुसार परिचयपत्र वितरणपछि बन्द सत्र शुरू हुनेछ । उनले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्द सत्र पछि सरेको दाबी गरेका छन् ।  

महाधिवेशन पार्टी सर्वोच्च निकाय भएकाले यस प्रक्रियामा विवाद नआओस् भन्नेमा पार्टी प्रतिबद्ध रहेको जनाउँदै उनले केही ढिलाइ भए पनि  समस्या नआउने गरी काम गरिएको जानकारी दिए । 

उनले सोमबार बेलुकी ७ बजेदेखि नै कार्ड वितरण थालिएको जानकारी दिए पनि अहिलेसम्म उक्त कार्य भइरहेको छ । सात प्रदेश र समायोजन एवं प्रवासका कार्ड फरक फरक ठाउँबाट सहज रुपमा वितरण गरिने पार्टीले जनाएको छ ।

कार्ड बाँडिएपछि शुरू हुने बन्द सत्रको कार्यक्रम यस्तो छ-
कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

त्यसमा छलफल हुनेछ । सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ ।

कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीको सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ । सोपश्चात् पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ ।

 विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने छ । पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने सम्भावित तालिका रहेको छ । 

सोपश्चात् निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने छ ।

आइतबार दिउँसो गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्रका कार्यक्रम उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा भइरहेको छ ।  

किन भइरहेछ ढिलाइ ?
उद्घाटनका बेलामै रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेनले आफूहरूको गाडी एक्सप्रेस भएकाले कहीँ कतै नरोकिने दाबी गरेका थिए । उनले सरकारलाई त्यसरी नै चलाउने बताएका हुन् । 

त्यो पार्टीका हकमा पनि लागू हुन्छ । पार्टीमा लागू गर्न नसक्दा उनी सोमबार विभिन्न अवलोकनका नाममा परिवारसहित घुमफिरमा लागे । त्यस्तै केही मन्त्रीहरू पनि अवलोकनका लागि घुमफिर गरे । 

आज पनि ढलाइ भयो भने मन्त्रीहरू घुमफिरमै लाग्नेछन् । तर जसरी उनले सुशासनका लागि अख्तियारलाई ५ घण्टा हैन पाँच वर्ष पनि नियन्त्रणमा लिन सकिने भनेर खुलेआम भने त्यसरी नै आफ्नो पार्टीभित्र पनि त्यही नीति सभापति रवि लामिछानेले गर्न खोजिरहेका छन् । 

चुनावी महाधिवेशन भएकाले केन्द्रीय सदस्यका आकांक्षी धेरै भएसँगै कसरी हुन्छ सीमितलाईमात्र टीका लगाउन खोजिएसँगै आक्रोश बढेको छ । 

उद्घाटनमै बोल्दै रविले धेरै महत्वाकांक्षी नहुन र त्याग गर्न गरेको आग्रहलाई सुन्ने पक्षमा धेरै नभएपछि आकांक्षी बढेका हुन् । आइतबार बेलुकीदेखि नै रविको टिम चुनाव नगरी सिधै नै केन्द्रीय कार्यसमिति चयन गर्नका लागि लागिरहेको छ । 

यसकै कारण असन्तुष्टि चुलिकएको हो । आकांक्षीहरू खुला प्रतिस्पर्धामा जान चाहन्छन् । तर पार्टी सुप्रिमोले रोक्न खोज्दा आक्रोश बढेको हो । अर्कातर्फ समयमै बन्द सत्र नहुँदा कतिपयले त महाधिवेशन स्थल नै छाडिसकेका सूचना आएका छन् ।

एक्सप्रेस गाडी भन्ने तर समयमै महाधिवेशनसमेत गर्न नसक्ने पार्टीको नेतृत्वले सरकारलाई पनि कतै दुर्घटनामा त पार्दै छैन भन्ने प्रश्नसमेत उब्जेको छ । 

विपक्षी दलका नेताहरूलाई अतिथि भनेर बोलाएर ठाड्ठाडो विरोध गर्नेहरूले आफ्नो पार्टीभित्रको विरोधलाई भने थेग्न नसकिरहेको बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ