भिसेग्राद समूहको प्रतिबद्धता: क्षेत्रीय एकता र युरोपेली नीतिमा साझा धारणा बनाउने
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
83
Shares
काठमाडौँ। हंगेरीको गोडोलोमा मंगलबार सम्पन्न भिसेग्राद समूह (भी-४) का नेताहरूको शिखर सम्मेलनले क्षेत्रीय सहयोगलाई थप सुदृढ बनाउने तथा युरोपेली संघसँग सम्बन्धित विषयमा समन्वय प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
सम्मेलनमा हंगेरीका प्रधानमन्त्री पिटर माग्यर, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क, स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रेज बाबिस सहभागी थिए ।
नेताहरूले भिसेग्राद समूहलाई अझ प्रभावकारी बनाउँदै युरोपेली नीतिनिर्माण प्रक्रियामा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
प्रधानमन्त्री माग्यरका अनुसार युरोपेली परिषद्का बैठकअघि नियमित परामर्श गर्ने तथा साझा चासोका विषयमा एकीकृत धारणा बनाउने सहमति भएको छ। उनले चार देशबीच केही विषयमा मतभिन्नता रहे पनि साझा हित र सहकार्यका आधारहरू अझ बलियो रहेको बताए ।
शिखर सम्मेलनमा युरोपेली संघको आगामी सात वर्षे बजेटबारे पनि विस्तृत छलफल भएको थियो । नेताहरूले मध्य युरोपेली मुलुकका लागि महत्त्वपूर्ण मानिने ‘कोहेजन पोलिसी’ र साझा कृषि नीतिलाई यथावत् राख्नुपर्नेमा समान धारणा व्यक्त गरेका छन् ।
क्षेत्रीय पूर्वाधार तथा आवागमन सुदृढीकरणका लागि वार्सा, प्राग, ब्रातिस्लाभा र बुडापेस्टलाई जोड्ने उच्च गतिको रेल सेवा सञ्चालन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिएको छ ।
हाल भिसेग्राद समूहको चक्रीय अध्यक्षता सम्हालिरहेको स्लोभाकियाले आफ्नो कार्यकालका प्राथमिकता सार्वजनिक गर्दै प्रतिस्पर्धात्मकता, आप्रवासन व्यवस्थापन, ऊर्जा नीति तथा क्षेत्रीय सहकार्यलाई मुख्य एजेन्डा बनाएको जनाएको छ ।
सम्मेलनले सांस्कृतिक तथा नागरिक समाजस्तरको आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिएको छ ।
साथै, ‘भी-४ प्लस’ अवधारणाअन्तर्गत आवश्यकता र विषयगत सहकार्यका आधारमा युरोपेली संघबाहिरका मुलुकलाई पनि साझेदारका रूपमा सहभागी गराउने सम्भावनाबारे छलफल भएको बताइएको छ ।