arrow

राप्रपा वैकल्पिक शक्ति बन्ने

रास्वपा पतन हुने राप्रपा अध्यक्ष लिङ्देनको दाबी [भिडियो]

रास्वपा पतन हुनेवाला छ, राप्रपा वैकल्पिक शक्ति बन्न आफैँ सुध्रिनुपर्छ: राजेन्द्र लिङ्देन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
lingden.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

अध्यक्ष लिङ्देनले रास्वपाको पतन निश्चित भए पनि उसको पतनको प्रतीक्षा गरेर मात्रै राप्रपाको उदय नहुने प्रस्ट पारे। राप्रपालाई देशको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नका लागि पार्टीले आफैँलाई बदल्नुपर्नेमा उनले जोड दिए। यसका लागि पार्टीको संगठन संरचना, कार्यशैली, सोच र गतिविधिमा व्यापक सुधार गरी आम जनतालाई ‘राप्रपा फेरियो र सुध्रियो’ भन्ने सकारात्मक सन्देश दिन आवश्यक रहेको उनको भनाइ थियो।

सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले भने, "अब राष्ट्रिय प्रजातन्त्र पार्टीकै पालो हो, तर राष्ट्रिय स्वतन्त्र पार्टी पतन भएपछि राप्रपाको पालो आउँछ भनेर बसेर मात्र हुन्न। त्यसका लागि हामीले कडा मेहनत गर्नुपर्छ। यो राष्ट्रिय स्वतन्त्र पार्टी त पतन हुनेवाला छ नै, तर त्यसपछि हामी बलियो शक्तिका रूपमा उठ्नका लागि हाम्रो अहिलेको क्रियाकलाप, तरिका र ढाँचामा आमूल परिवर्तन गर्नुपर्छ।"

जनताले राप्रपालाई ठूलो मत नदिए पनि देशमा राजनीतिक विकल्प आवश्यक पर्ने विश्वासका साथ राष्ट्रिय पार्टीका रूपमा जोगाइराखेको उल्लेख गर्दै उनले पार्टीलाई सिध्याउन अनेकौँ प्रयास र चुनौती आए पनि ती सबैलाई चिर्दै राप्रपा आफ्नो हैसियतमा कायम रहेको बताए।

उनले पार्टीभित्र गुट–उपगुटको राजनीतिको अन्त्य गरी एकता, आपसी विश्वास र प्रेमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। नेता–कार्यकर्ताहरूलाई कुनै नेताको पछि लाग्ने (पुच्छर समात्ने) प्रवृत्ति छाडेर जनताको हात समाई जनतासँगको सम्बन्ध मजबुत बनाउन उनले आह्वान गरे।

यसका साथै, अध्यक्ष लिङ्देनले आगामी मंसिर २६, २७ र २८ गतेका लागि तोकिएको राप्रपाको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने सुनिश्चित गर्दै निर्वाचन तालिका अनुसार नै तल्लो तहको अधिवेशनको तयारीमा तीव्रताका साथ जुट्न सम्पूर्ण पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ