रास्वपाको प्रदेश खारेजी प्रस्ताव अवसरवादी र असान्दर्भिक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
90
Shares
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयतासम्बन्धी अघि सारेको पछिल्लो प्रस्तावलाई ‘अवसरवादी’ र ‘असान्दर्भिक’ भएको टिप्पणी गरेका छन्।
आइतबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै पुनले रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गरेको आरोप लगाए।
उनले निर्वाचनका बेला र विभिन्न प्रदेशमा पुगेर संघीयतालाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको रास्वपाले अहिले महाधिवेशनमार्फत प्रदेश संरचना खारेज गर्ने प्रस्ताव ल्याउनु जनतासँगको वाचा विपरीत भएको बताए।
पुनले रास्वपाभित्र वैचारिक अस्पष्टता रहेको दाबी गर्दै सभापतिको दस्तावेजमा संविधान र संघीयताप्रति प्रतिबद्धता व्यक्त गरिनु तर उपसभापतिको प्रस्तावमा प्रदेशसभा खारेजीको विषय समेटिनुले पार्टीभित्रै दुई धार वा वैचारिक अपरिपक्वता रहेको संकेत गरेको बताए।
‘प्रधानमन्त्रीकै उपस्थितिमा जनकपुर, सुदूरपश्चिम र कर्णालीमा संघीयता बलियो बनाउँछौँ भनेर भाषण गर्ने, तर महाधिवेशनमा पुगेर प्रदेश खारेजीको कुरा गर्नु द्वैध र अवसरवादी चरित्र हो,’ उनले भने।
उनले प्रदेशसभाविहीन संरचनाले विगतको एकात्मक शासन प्रणालीलाई पुनर्जीवित गर्ने दाबी गर्दै संघीयताको मूल मर्म जनताले निर्वाचित गरेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्नु रहेको उल्लेख गरे।
‘केवल प्रशासनिक इकाई मात्र राख्नु संघीयताको उपहास हो,’ उनले भने।
संघीयता र लोकतान्त्रिक व्यवस्था हजारौँ नागरिकको बलिदानबाट स्थापित भएको उल्लेख गर्दै पुनले यसलाई कमजोर पार्ने वा ‘आगोसँग खेल्ने’ प्रयास नगर्न रास्वपालाई चेतावनी दिए।
साथै उनले नयाँ राजनीतिक संस्कारको दाबी गर्ने रास्वपाका पछिल्ला अभिव्यक्ति र व्यवहारले वैचारिक अपरिपक्वता र लोकप्रियतावाद मात्र झल्काएको आरोप पनि लगाए।