राष्ट्रिय वाणिज्य बैंकको बैंक जमानत प्रभावकारी, अन्तर्राष्ट्रिय स्तरमै मान्यताप्राप्त
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
274
Shares
काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकको बैंक जमानत प्रभावकारी बन्दै गएको छ । बैंकले निर्माण कार्यका लागि टेण्डर पेश गर्न, मालसामान तथा खाद्यान्न आपूर्ति गर्न, ठेक्कापट्टा सम्बन्धी कार्य गर्न, उधारोमा सामान खरीद गर्न, डिलरशिप लिन, पेश्की लिन, इजाजत लिन, एजेन्सी लिन लगायतका कार्यहरू गर्न ग्राहकलाई आवश्यक पर्ने बैंक जमानत जारी गर्ने गरेको बताएको छ ।
यस बैंकले आफ्ना ग्राहकको साख र क्षमता अनुसार स्वीकृत बैंक जमानत कर्जा सीमा (क्रेडिट लाइन) को अधिनमा रही उनीहरूको अनुरोध बमोजिम बैंक जमानत जारी गर्ने जानकारी दिएको छ ।
राष्ट्रिय बाणिज्य बैंकले हाल बोलपत्र जमानत (बिड बोन्ड), कार्यसम्पादन जमानत (पर्फमेन्स बोन्ड), अग्रिम भुक्तानी जमानत (एडभान्स पेमेन्ट ग्यारेन्टी, वित्तीय जमानत (फाइनान्सियल ग्यारेन्टी), धरौटी जमाानत (रिटेन्सन मनि ग्यारेन्टी) र बण्डेड वेयरहाउस जमानत (बन्डेड वेरहाउस ग्यारेन्टी) जस्ता जमानतहरू जारी गर्ने गरेको छ ।
बैंकबाट यस्ता जमानतहरू आवश्यक भएमा ग्राहकले आफूले कारोबार गर्ने नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा गई आफ्नो व्यापारिक फर्म कम्पनीको नाममा चल्ती खाता खोल्नुपर्दछ ।
साथै बैंक जमानत सीमाको लागि ग्राहकले नगद रकम मार्जिनको रुपमा जम्मा गरेर वा बैंक स्वीकार्य धितो सुरक्षण दिएर बैंक जमानत सीमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस्तो सीमाको लागि ग्राहकले न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशतसम्म धितो सुरक्षण दिनुपर्नेसमेत बैंकले जानकारी दिएको छ ।
बैंक जमानत सीमा प्राप्त गरिसकेपछि उक्त सीमा सम्मको बैंक जमानत कसको पक्षमा, कति रकमको, के कार्य र कति अवधिसम्मको लागि जारी गर्नुपर्ने हो, सो खुलाई बैंक समक्ष निवेदन दिनुपर्दछ ।
उक्त निवेदनको आधारमा बैंकले न्यूनतम सेवा शुल्कमा सम्बन्धित पक्ष लाभग्राही हुनेगरी ग्राहकको तर्फबाट तोकिएको रकमसम्मको बैंक जमानत जारी गर्दछ ।
सामान्यतया बैंक जमानतमा बैंकको प्रत्यक्ष दायित्व रहँदैन तर निर्माण तथा व्यापारिक कारोबारको सिलसिलामा बैंकको ग्राहकले प्रतिवद्धता गरे अनुसारको कार्यसम्पादन नभएमामात्र जसको पक्षमा जमानत जारी गरिएको हो उक्त पक्षले बैंक समक्ष जमानतमा उल्लेख गरिएको रकमको दाबी गर्दछ र सोको सोधभर्ना गर्नु बैंकको कर्तब्य हुन जान्छ ।
अतः बैंक जमानतलाई बैंकको आकस्मिक दायित्व (कन्टिन्जेन्ट लियाबिलिटी) को रूपमा लिइन्छ ।
राष्ट्रिय वाणिज्य बैंक नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त बैंक भएकोले यसले जारी गरेको बैंक जमानत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायबाट माग भएको बैंक जमानतको लागि मान्य हुन्छ ।
विश्वव्यापी वोलपत्र (ग्लोबल टेन्डर) खुला गरिएको अवस्थामा समेत यस बैंकबाट जारी भएको बैंक जमानत मान्य हुन्छ ।
हाल राष्ट्रिय स्तरका ठूला ठूला परियोजनाहरू र अन्तर्राष्ट्रिय निकायबाट खोलिएका ठेक्कामा समेत टेण्डर हाल्न यस बैंकको जमानत प्रयोग भइरहेको छ ।
बैंक जमानत (बैंक ग्यारेन्टी) के हो ?
बैंक जमानत कुनै बैंकले आफ्नो ग्राहकको तर्फबाट तेस्रो पक्षलाई दिने एक प्रकारको प्रतिबद्धता पत्र हो ।
यो पत्रमा यदि ग्राहकले तेश्रो पक्षप्रतिको आफ्नो दायित्व पूरा गर्न सकेन भने बैंकले निश्चित रकम तेश्रो पक्षलाई भुक्तानी गर्ने ग्यारेन्टी गरेको हुन्छ ।
यो प्रायः ठेक्कापट्टा, आयात–निर्यात र अन्य व्यावसायिक कारोबारमा प्रयोग हुन्छ । विशेष गरी निर्माण व्यवसाय, आपूर्ति सम्बन्धी काम तथा व्यापारिक कारोबारमा संलग्न दुई पक्षहरूबीच आपसी विश्वास र सुरक्षा प्रदान गर्न बैंकहरूले यस्तो जमानत जारी गर्ने गर्दछन् ।