पूर्वाधार र प्रचारको पर्खाइमा प्राकृतिक तथा धार्मिक पर्यटकीय गन्तव्य भंकासे
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
108
Shares
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा अवस्थित प्राकृतिक तथा धार्मिक महत्व बोकेको भंकासे क्षेत्र अहिले पूर्वाधार विकास, प्रभावकारी प्रचारप्रसार र पर्यटकको पर्खाइमा रहेको छ।
समुद्री सतहदेखि करिब दुई हजार ६०० मिटरको उचाइमा रहेको भंकासे चारैतिर भिरालो पाखा, घना जङ्गल, फराकिलो समथर भूभाग र मनोरम हिमशृङ्खलाको दृश्यले भरिपूर्ण छ।
स्थानीयका अनुसार परापूर्वकालमा ऋषिमुनिहरूले यही क्षेत्रमा तपस्या गरी ज्ञान आर्जन गरेका कारण यसको धार्मिक महत्व पनि उत्तिकै रहेको छ।
स्थानीय बासिन्दा लोकबहादुर पुनका अनुसार पहाडको शिरमा जमिन भासिएर ठूलो प्वाल बनेको थियो। त्यसलाई स्थानीय भाषामा ‘भ्वाङ खसेको’ भनिन्थ्यो, जसैको अपभ्रंश हुँदै यस स्थानको नाम भंकासे रहन गएको जनविश्वास छ।
भंकासेमा पहाड भासिएर बनेको विशाल ओडारजस्तो भ्वाङसँगै करिब १० रोपनी क्षेत्रफलमा फैलिएको समथर जमिन छ।
यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे लगायतका हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। स्थानीयका अनुसार म्याग्दीका साविकका ४१ गाविसमध्ये ३५ गाविसको भूगोल यहाँबाट सहजै देख्न सकिन्छ।
भंकासेभन्दा करिब २०० मिटर तल रहेको सिद्धथान पनि धार्मिक आस्थाको केन्द्र हो। यहाँ प्राचीन ऋषिमुनिहरूले तपस्या गरी देहत्याग गरेको विश्वास गरिन्छ। हाल त्यहाँ मन्दिर र धर्मशाला निर्माण गरिएको छ भने देशका विभिन्न स्थानबाट साधुसन्त तथा तपस्वीहरू ध्यान र तपस्याका लागि आउने गरेका छन्।
सिन्धुपाल्चोकबाट आएका तपस्वी रुपचन्द्र विगत १२ वर्षदेखि भंकासे क्षेत्रमा तपस्यारत छन्। उनले सपनामा प्राप्त संकेतका आधारमा विश्वशान्ति र विकृतिमुक्त समाजको कामनासहित यहाँ तपस्या गर्न आएको बताएका छन्। तपस्वीहरूका लागि भंकासे र सिद्धथान क्षेत्रमा आश्रमसमेत निर्माण गरिएको छ।
भंकासे पुग्न वाखेत बस्तीबाट करिब ३० मिनेट पैदल हिँडेर सिद्धथान र त्यहाँबाट थप १५ मिनेट उकालो चढ्नुपर्छ।
यस्तै, रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको प्रसिद्ध पर्यटकीयस्थल टोड्केबाट पनि करिब ४० मिनेटको पैदल यात्रापछि भंकासे पुग्न सकिन्छ।
बेनी नगरपालिका-१० का वडाध्यक्ष मसविर रोकाका अनुसार नगरपालिकाले ‘एक वडा, एक पर्यटन परियोजना’ अन्तर्गत सिद्धथान-भंकासे क्षेत्रलाई आरोग्य पर्यटनको अवधारणाअनुसार धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजना अघि बढाएको छ।
वाखेतदेखि सिद्धथान हुँदै भंकासेसम्म पदमार्ग र सिद्धथान जोड्ने सडक निर्माण सम्पन्न भइसकेको तथा यस क्षेत्रको ऐतिहासिक पृष्ठभूमि खोज्न धर्मगुरुहरूमार्फत अनुसन्धानसमेत शुरू गरिएको उनले जानकारी दिए।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र शान्त वातावरणको अनुपम संगम रहेको भंकासे आवश्यक पूर्वाधार, संरक्षण र प्रभावकारी प्रचारप्रसार पाएमा म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने स्थानीयको विश्वास छ। रासस