काभ्रेमा बर्डफ्लूको प्रकोप, ४० हजारभन्दा बढी हाँस-कुखुरा नष्ट
तीन नाकामा कडा निगरानी
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
526
Shares
काठमाडौँ। काभ्रेका विभिन्न पोल्ट्री फार्ममा बर्डफ्लू (एच५एन१) सङ्क्रमण पुष्टि भएपछि हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ। केही हप्तादेखि धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रूपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ।
कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिकाको वडा नं ६ र १३ तथा पनौती नगरपालिकाको वडा नं ७, ८ र ९ का केही पोल्ट्री फार्महरूमा बर्डफ्लू सङ्क्रमण देखिएको हो। सङ्क्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको उनले बताए।
मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। यसका साथै प्रयोगशाला (ल्याब) परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा सङ्क्रमणदर बढ्दै गएको बताइएको छ।
डा. ठाकुरले व्यावसायिक पोल्ट्री फार्महरूमा 'बायोसेक्युरिटी' (जैविक सुरक्षा) का मापदण्ड कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिए। उनले कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, खोर तथा उपकरण नियमित रूपमा निसङ्क्रमित गर्न र कुखुरा ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्न आग्रह गरेका छन्।
जिल्ला भित्रिने नाला, रोशी र खावा चेकपोस्टमा परीक्षण बिना तथा अवैध रूपमा ओसारपसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडा पारिएको छ। यसअघि गत चैत महिनामा नै देशका अन्य स्थानमा बर्डफ्लू देखिएपछि काभ्रे र सिन्धुपाल्चोकमा सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरिएको थियो। जोखिमयुक्त क्षेत्रका किसानहरूलाई आफ्नो फार्ममा विशेष ध्यान दिन र कुखुरामा असामान्य लक्षण देखिएमा तुरुन्त सूचना दिन प्रशासनले अनुरोध गरेको छ।