arrow

स्थानीय तहका समस्या समाधान गर्न सङ्घ र मधेस प्रदेशबीच छलफल

तीन सहसचिवको टोली स्थलगत सहजीकरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
madhes-prativa.jpg

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच स्थानीय तहमा देखिएका समस्या समाधान गर्ने र सङ्घ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा विशेष छलफल भएको छ। भेटका क्रममा स्थानीय तहमा भइरहेको कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीका विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्याबारे आफू पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै तिनको समाधानका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सबै पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन मन्त्रालयले चालेको कदमबारे जानकारी दिइन्। उनले मन्त्रालयका तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरी स्थलगत सहजीकरण तथा समन्वयको काम अगाडि बढाइएको बताइन्। उक्त टोलीले विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीहरूसँग प्रत्यक्ष छलफल गरी स्थानीय तहका समस्या, वास्तविक आवश्यकता र चुनौतीबारे स्थलगत विवरण सङ्कलन गरिसकेको छ।

स्थानीय तहका प्राविधिक तथा प्रशासनिक समस्याहरू सुल्झाउनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको प्रभावकारी समन्वय अपरिहार्य रहेको मन्त्री रावलले उल्लेख गरिन्। उनले स्थानीय सरकारलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमुखी बनाउन मन्त्रालयले आवश्यक पहललाई निरन्तरता दिने स्पष्ट पारिन्। सिंहदरबारमा भएको उक्त छलफलमा मन्त्रालयका सचिव, सहसचिव तथा प्रतिनिधिसभा सदस्य रहबर अन्सारी लगायतको उपस्थिति थियो।



नयाँ