फ्रान्स विश्वकपको प्रिक्वार्टरफाइनलमा, एम्बाप्पेको दुई गोल, बाहिरियो स्वीडेन
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
359
Shares
काठमाडौँ । फ्रान्स विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज न्यूजर्सीको मेटभलाइफ स्टेडियममा भएको अन्तिम ३२ को खेलमा स्वीडेनमाथि स्पष्ट ३–० को सहज जित हासिल गर्दै फ्रान्स अन्तिम १६ मा पुगेको हो ।
फ्रान्सलाई सहज जित दिलाउने क्रममा केलियन एम्बाप्पेले दुई तथा ब्राडलि बार्कोलाले एक गोल गरे ।
खेलको ४५ औँ मिनेटमा अस्माने डेम्बेलेको पासमा एम्बाप्पेले पहिलो गोल गरे । ५३ औँ मिनेटमा माइकल ओलिसको पासमा बारकोलाले गोल गरे ।
७४ औँ मिनेटमा एम्बाप्पेले अर्को गोल थप्दै फ्रान्सलाई सहज जित दिलाए । एम्बाप्पे नै प्लेयर अफ द म्याच भए ।
यो जितसँगै फ्रान्सका लागि प्रशिक्षक डिडियर डेस्च्याम्पसले विश्वकपमा १७ खेल जिताएर कीर्तिमान रचेका छन् ।
फ्रान्सले अब प्रिक्वार्टरफाइनलमा पाराग्वेसँग खेल्नेछ ।
अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल, पाराग्वे र नर्वे प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो ।
ब्रजिलले जापानलाई २–१ ले हरायो । पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । त्यस्तै नर्वेले आइभरी कोष्टलाई २–१ ले पराजित गर्यो ।