एआई चिप्स र डाटा सेन्टरमा सामसङ र एसकेले खर्बौँ डलर स्वदेशमै खर्चिने
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
185
Shares
काठमाडौँ । दक्षिण कोरियाका प्रमुख मेमोरी चिप निर्माता कम्पनीहरू सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि आवश्यक चिपको बढ्दो मागलाई सम्बोधन गर्न ऐतिहासिक परिमाणको लगानी योजना घोषणा गरेका छन्।
राष्ट्रपति ली जे म्युङद्वारा आयोजित एक राष्ट्रिय ब्रिफिङमा एसके समूहका अध्यक्ष चे ताए–वोनले नयाँ सेमिकन्डक्टर उत्पादन लाइन निर्माणका लागि मात्रै १ हजार १०० ट्रिलियन वन (करिब ७१३ अर्ब अमेरिकी डलर) लगानी गर्ने बताए। यसका साथै एआई डाटा सेन्टरहरूका लागि थप १ हजार ट्रिलियन वन (करिब ६४८ अर्ब अमेरिकी डलर) लगानी गर्ने जानकारी दिँदै अध्यक्ष चेले आफ्नो समूहले आगामी १० वर्षसम्म वार्षिक औसत १०० ट्रिलियन वन (करिब ६५ अर्ब डलर) भन्दा बढी स्वदेशी लगानीलाई निरन्तरता दिने स्पष्ट पारे।
यसैगरी, सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली जे–योङले नयाँ सेमिकन्डक्टर उत्पादन लाइनका लागि दक्षिण–पश्चिमी सहर ग्वाङ्जुलाई सम्भावित स्थलका रूपमा विचार गरिरहेको बताए। उनले चुङचेओङ प्रान्तमा उच्च ब्यान्डविथ मेमोरी (एचबीएम) उत्पादन केन्द्र निर्माण गर्ने र उत्तर ग्येओङसाङ प्रान्तमा एआई डाटा सेन्टर तथा रोबोटिक्सका क्षेत्रमा लगानी केन्द्रित गर्ने योजना रहेको खुलासा गरे।
चिप बजारमा आफ्नो वैश्विक वर्चस्व कायम राख्न ठूलो मात्रामा हुन लागेको यस स्वदेशी लगानीप्रति राष्ट्रपति लीले विशेष आभार प्रकट गरे। उनले देशको अर्थतन्त्र र प्रविधि क्षेत्रमा यसले ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्दै सरकारको तर्फबाट आवश्यक सम्पूर्ण नीतिगत तथा व्यावहारिक सहयोग रहने प्रतिबद्धता समेत जनाए।