arrow

मेक्सिको विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा, इक्वेडर पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
wcf-2026-mexico-win-16.jpg

काठमाडौँ । सहआयोजक मेक्सिको विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको नकआउट चरणको खेलमा इक्वेडरलाई २–० ले पराजित गर्दै मेक्सिको अन्तिम १६ मा पुगेको हो । 

मेक्सिको सिटी स्टेडियममा भारी वर्षाका कारण एक घण्टा ढिला गरी खेल शुरू भएको खेलमा मेक्सिकोले मध्यान्तरअघि नै दुवै गोल गरेको थियो । 

मेक्सिकोका लागि २२ औँ मिनेटमा युलियन क्विनोनेसले गोल गरे । उनले रोबर्टो अल्भाराडोको पासमा गोल गरेका हुन् । 

त्यस्तै ३१ औँ मिनेटमा राउल जिमेनेसले गोल गरे । उनलाई युलियन क्विनोनेसले पास दिएका थिए । 

मेक्सिकोले मध्यान्तरसम्म ५७ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको थियो । मध्यान्तरपछि इक्वेडरले ५७ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको भए पनि गोल फर्काउन भने सकेन ।  

खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा इक्वेडरका पिएरो हिन्क्यापीले रातो कार्ड खाएका थिए । 

मेक्सिकोले समूहका सबै तीन खेल जितेको थियो भने इक्वेडरले एक जित, एक बराबर र एक हार बेहोरेको थियो । 

मेक्सिको अहिलेसम्म दुई पटकमात्र क्वार्टरफाइनलसम्म पुग्न सकेको छ । मेक्सिको सन् १९७० र १९८६ मा क्वार्टरफाइनलमा पुगेको थियो । 

इक्वेडर सन् २००६ मा पहिलो पटक नकआउट स्टेजमा पुगेको थियो । 

अहिलेसम्म को को पुगे प्रिक्वार्टरफाइनलमा ?

अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल, पाराग्वे, नर्वे र फ्रान्स प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो । 

ब्रजिलले जापानलाई २–१ ले हरायो । पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । त्यस्तै नर्वेले आइभरी कोष्टलाई २–१ ले पराजित गर्यो । 

त्यस्तै फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्धतले स्वीडेनलाई ३–० ले पराजित गर्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ