'राष्ट्रिय हित र मुलुकको छवि प्रवर्द्धन नै सरकारको मुख्य ध्येय'
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
215
Shares
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले राष्ट्रिय हित र मुलुकको छवि प्रवर्द्धनमा केन्द्रित परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
बुधबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन्। मन्त्री खनालले सरकारको मुख्य ध्येय नै सधैँ राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नु रहेको उल्लेख गरे।
परराष्ट्र सम्बन्ध सञ्चालनको विषय निकै संवेदनशील भएको स्पष्ट पार्दै मन्त्री खनालले यस क्षेत्रमा सम्बन्धित सबै पक्षको दायित्व, योगदान र भूमिका महत्त्वपूर्ण हुने बताए। परराष्ट्र मन्त्रालयले आफ्नो क्षेत्राधिकारभित्र रहेर परराष्ट्र मामिलामा सशक्त र प्रभावकारी कार्य सम्पादन गर्दै आएको जिकिर गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने दृढता व्यक्त गरे।
यस प्रक्रियामा प्राप्त भएका उपलब्धिहरूका बारेमा सदनलाई नियमित रूपमा जानकारी गराउँदै जाने प्रतिबद्धता उनले जनाए। परराष्ट्र सम्बन्धलाई अझ बढी प्रभावकारी र परिपक्व बनाउनका लागि सरकारले सांसदहरूको रचनात्मक सुझाव र मार्गनिर्देशनको सदैव अपेक्षा गरेको समेत उनले स्पष्ट पारे।