संसदीय शासन असफल भयो, अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यकः वामदेव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
245
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले वर्तमान संसदीय शासन प्रणाली असफल भइसकेको दाबी गर्दै नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू गर्नुपर्ने बताएका छन्।
उनले पटक-पटक सरकार परिवर्तन हुने राजनीतिक अस्थिरताले मुलुकको विकास र सुशासनलाई प्रभावित पारेको भन्दै अब शासन प्रणाली परिवर्तनबारे गम्भीर बहस आवश्यक भएको धारणा राखे।
बुधबार पूर्व सांसद मञ्च, नेपालको ६६औँ वार्षिक साधारणसभामा बोल्दै गौतमले २०१५ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको उल्लेख गरे। संसदले समेत आफ्नो पूर्ण कार्यकाल पूरा गर्न नसकेको भन्दै उनले संसदीय शासन प्रणालीको औचित्यमाथि प्रश्न उठाए।
उनले निर्वाचित सरकारले पाँच वर्षसम्म अविच्छिन्न रूपमा काम गर्न पाउने संवैधानिक सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै बीचमै सरकार परिवर्तन गर्ने अभ्यास अन्त्य गर्नुपर्ने बताए।
"२०१५ सालदेखि अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्ष कार्यकाल पूरा गर्न सकेका छैनन्। संसद पनि पाँच वर्ष टिक्न सकेको छैन। यस्तो प्रणाली किन राख्ने? यसको विकल्प प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली हो, जसले पाँच वर्ष निर्विघ्न काम गर्न पाउनुपर्छ," गौतमले भने।
पूर्व सांसदहरूको अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए। सरकारले पूर्वसांसदलाई सम्मान गर्न चाहे विकास निर्माण, अनुगमन तथा निरीक्षणजस्ता जिम्मेवारी दिएर उनीहरूको अनुभवको उपयोग गर्न सक्ने उनको सुझाव थियो।
"विश्वका धेरै देशमा पूर्व सांसदहरूको अनुभवलाई राज्यले उपयोग गर्छ। नेपालमा पनि विकास निर्माण र अनुगमनका जिम्मेवारी दिएर उनीहरूको ज्ञान र अनुभवको सदुपयोग गर्नुपर्छ," उनले भने।
संविधानले महिलालाई दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनबाट ५१ प्रतिशत महिला नेतृत्व निर्वाचित हुनु भने सकारात्मक सन्देश भएको बताए। उनले महिलाको नेतृत्व र सहभागिता व्यवहारमै सुनिश्चित हुनुपर्ने धारणा पनि राखे।
संविधान संशोधनबारे आफूले पुस्तक नै लेखेको उल्लेख गर्दै गौतमले अब मुलुकको राजनीतिक स्थायित्व सुनिश्चित गर्न शासन प्रणालीबारे खुला बहस गर्नुपर्ने आवश्यकता औँल्याए।