एनआईसी एशिया बैङ्कले डोटी र सिन्धुपाल्चोकका विद्यालयहरूलाई शैक्षिक सामग्री सहयोग
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
418
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ।
के.आई.सिंह गाउँपालिका–४, बगर वायल डोटीस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई बैङ्कले वाटर डिस्पेन्सर उपलब्ध गराएको छ। प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म अध्ययनरत ३६ भन्दा बढी विद्यार्थीमध्ये बाबुआमा नभएका सीमान्तकृत २१ जना विद्यार्थीलाई खाने बस्ने सुविधासहित आवासीय सुविधा प्रदान गरिरहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ १५ गते एक कार्यक्रमका बीच बैङ्कका दिपायल शाखा प्रमुख रमेश ओझाले प्रधानाध्यापक पदम सिंह विष्टलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका छन्।
त्यसै गरी, चौतारा साँगाचोकगढी नगरपालिका–१२, सिन्धुपाल्चोकस्थित श्री जन जागृति माध्यमिक विद्यालयलाई बैङ्कले १ थान ल्यापटप, ३ थान डेस्कटप कम्प्युटर र १ थान प्रोजेक्टर सहयोग गरेको छ। प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म सञ्चालन भइरहेको उक्त विद्यालयका झन्डै ४५० विद्यार्थीहरूको प्रविधिमा पहुँच र गुणस्तरीय शिक्षामा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको यी सामग्री मिति २०८३ आषाढ १६ गते एक कार्यक्रमका बीच बैङ्कका ईएसजी एण्ड सस्टेनेबल बैङ्किङ डिपार्टमेन्ट प्रमुख सोफी अधिकारी पौड्याल र बनेपा सर्कल हेड अमृतमान श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर १२ का अध्यक्ष दीपेन्द्र प्रसाद नेपाल र प्रधानाध्यापक ध्रुवराज गिरीलाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन्।
बैङ्कले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउनुका साथै विद्यालयमा गुणस्तरीय शिक्षासँगै प्रविधि पहुँच विस्तार गर्न सहयोग पुर्याउने विश्वास बैङ्कले लिएको छ।