सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गरिने
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
455
Shares
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले देशका सातै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको शाखा विस्तार गरिने बताएका छन्। बिहीबार संसदीय समितिमा भएको विधेयकमाथिको छलफलमा उनले हाल चार वटा शाखा सञ्चालनमा रहेकोमा यसै वर्ष थप दुई वटा नयाँ शाखा स्थापना गर्ने लक्ष्य रहेको स्पष्ट पारे।
मन्त्री पुनले शाखाहरू केवल खोल्नका लागि मात्र नभई अत्याधुनिक उपकरण र जनशक्तिसहित पूर्ण रूपमा सक्षम हुनुपर्नेमा जोड दिए। साथै, स्थानीय स्वार्थ र विवाद आउन सक्ने भएकाले यी शाखाहरू केन्द्र सरकार मातहत नै चल्ने र स्थानीय तहमा तत्काल शाखा नखोलिने उनले स्पष्ट पारे।
छलफलका क्रममा विधेयकमा उल्लेखित 'विश्वसनीय' र 'स्वायत्त' जस्ता शब्दहरूमाथि मन्त्री पुनले प्रश्न उठाए। प्रयोगशालाको प्रतिवेदन कानुनी रूपमा अन्तिम र बाध्यकारी हुनुपर्ने भएकाले यसलाई 'विश्वसनीय' भन्दा पनि 'कानुनी मान्यता प्राप्त' भन्नु उपयुक्त हुने उनको तर्क छ।
त्यस्तै, प्रयोगशाला 'स्वायत्त' नभई 'स्वशासित' मात्र हुने उनले बताए। आर्थिक रूपमा पूर्ण आत्मनिर्भर नभएसम्म र बजेटका लागि सरकारकै मुख ताक्नुपर्ने अवस्था रहेसम्म कुनै पनि संस्था पूर्ण स्वायत्त हुन नसक्ने उनको भनाइ छ। मन्त्रालयले प्रयोगशालामाथि प्रत्यक्ष शासन नगरेर नीतिगत समन्वय मात्र गर्ने भन्दै निजी क्षेत्रले आफ्नै लगानीमा फरेन्सिक ल्याब खोले मात्र त्यो पूर्ण स्वायत्त हुने उनले प्रस्ट पारे। बैठकमा सांसदहरूले भने प्रयोगशालालाई स्वायत्त बनाउनुपर्ने धारणा राखेका थिए।