सुधन फेरि गृहमन्त्री, महावीर पनि समेटिए [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
242
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले सम्पत्ति स्रोत सम्बन्धी प्रकरणमा मुछिएका सुधन गुरुङलाई फेरि गृहमन्त्री बनाएका छन् ।
त्यस्तै स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बालेनको सिफारिसमा गुरुङ र पुनलाई शपथ दिलाएका हुन् ।
सुधन गुरुङ गत चैत १३ गते गृहमन्त्री बनेका थिए । तर सम्पत्ति स्रोतसम्बन्धी विवाद उठेपछि उनले २७ दिनमै पदबाट राजीनामा दिएका थिए ।
पछि उनीमाथि छानबिन समिति गठन गरिएको थियो। सो समितिले तयार पारेको प्रतिवेदन आजै मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय पनि गरेको छ।
प्रतिवेदन सार्वजनिक नगरी बालेनले उनलाई पुनः गृहमन्त्रालय सुम्पेका हुन् । बालेनले अहिलेसम्म गृह मन्त्रालय आफू मातहत नै राखेका थिए ।
गुरुङ गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गोरखा-१ बाट निर्वाचित भएका हुन् ।
यता नवप्रवर्तन मन्त्री पुन दोस्रो पटक मन्त्री बनेका छन् । उनी यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री बनेका थिए। तर उनले मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र रुपमा प्रतिनिधि सभा निर्वाचनमा होमिएका थिए । जहाँ उनी भारी मतका साथ निर्वाचित भएका थिए।
पुन मन्त्री बनेसँगै सरकारको पक्षमा प्रतिनिधि सभामा १८२ सांसद पुग्ने र सत्ता समीकरणलाई अझ मजबुत बनाउने राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।