कर्णाली नदीमा गाडी डुब्यो : उद्धारमा कठिनाइ, भिरमा एक पुरुषको जीवितै उद्धार
गोताखोरको टोली घटनास्थलतर्फ
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
326
Shares
तस्बिर फाइल
कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त भई यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा खोजी तथा उद्धार कार्यमा कठिनाइ भएको छ। नदीमा पानीको बहाव र जलसतह बढेकाले गाडी नदेखिने गरी डुबेकाले उद्धारमा समस्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी आज बिहान ११:३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७, साङ्गेतडास्थित सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको हो।
दुर्घटनास्थल नजिकैको भिरमा अचेत अवस्थामा अड्किएका पहिचान नखुलेका एक पुरुषको जीवितै उद्धार गरिएको छ। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल दैलेख गुल्म र माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसको संयुक्त टोली उद्धार सामग्रीसहित खोजी कार्यमा जुटेको छ।
नदीभित्र खोजीका लागि कर्णाली प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटासहित गोताखोरको विशेष टोली सुर्खेतबाट घटनास्थलतर्फ प्रस्थान गरिसकेको डीएसपी विकले बताए। सुर्खेत बसपार्कबाट बिहान ८:०० बजे छुट्दा गाडीमा ५ जना यात्रु सवार रहेको भनिए पनि दुर्घटनाको समयमा गाडीभित्र कति जना थिए भन्ने वास्तविक विवरण अझै यकिन हुन सकेको छैन।
भौगोलिक अवस्था जटिल र दुर्गम भएकाले दुर्घटनाको थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी पाल्तडाबाट ३ किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालय दैलेखबाट ५० किलोमिटर पश्चिममा पर्दछ।