सरकारको सय दिनबारे हर्कराज राई टिप्पणी : प्रयास भयो, परिणाम आएन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
389
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार गठन भएको सय दिन बितिसक्दा पनि जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी उपलब्धिमूलक काम हुन नसकेको टिप्पणी गरेका छन्। सरकार प्रयासरत देखिए पनि त्यसको परिणाम नागरिकले महसुस गर्न नसकेको उनको भनाइ छ।
दार्चुलाको दुर्गम क्षेत्रमा निर्माण गरिएको झोलुङ्गे पुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राईले सरकारको कार्यसम्पादन अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको बताए।
उनले सरकारले केही सकारात्मक प्रयास गरेको स्वीकार गरे पनि त्यसको प्रभाव जनजीवनमा स्पष्ट रूपमा नदेखिएको दाबी गरे। विशेषगरी बढ्दो महँगी आम नागरिकका लागि मुख्य समस्या बनेको उल्लेख गर्दै मूल्यवृद्धि नियन्त्रणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने सुझाव आफूहरूले निरन्तर दिँदै आएको बताए।
“सरकारले प्रयास त गरेको छ, तर त्यसको परिणाम जनताले महसुस गर्न सकेका छैनन्। सय दिनको मूल्याङ्कन उपलब्धिको सूचीले होइन, नागरिकको दैनिक जीवनमा परेको प्रभावले हुनुपर्छ,” राईले भने।
राईले पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको निर्णय भने सकारात्मक भएको उल्लेख गर्दै त्यसले उपभोक्तालाई केही राहत दिने विश्वास व्यक्त गरे।
तर, इन्धनको मूल्य घट्नु मात्रै पर्याप्त नभई दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रणमा पनि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो।
दार्चुला भ्रमणको अनुभव सुनाउँदै उनले विकट जिल्लाहरू अझै विकास र सूचना पहुँचका दृष्टिले पछि परेको बताए।
त्यहाँ सञ्चार सेवा र पूर्वाधारको अवस्था कमजोर रहेको उल्लेख गर्दै दुर्गम क्षेत्रको विकासलाई सरकारले अझ प्राथमिकता दिनुपर्ने धारणा राखे।