कांग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
136
Shares
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले बलियो संगठन निर्माण गरी नेपाली काँग्रेसलाई देशकै सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाइने बताएका छन्।
४४औँ बीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले काँग्रेसलाई समयको माग र कार्यकर्ताको चाहनाअनुसार अघि बढाउनुपर्ने बताए।
पार्टीको गुम्दै गएको ‘जीवनदायिनी शक्ति’ पुनर्जागृत गर्न विशेष महाधिवेशनमार्फत युवा नेतृत्व चयन गरिएको उनको भनाइ छ।
नेपाललाई ‘देवभूमि’को संज्ञा दिँदै घिमिरेले यहाँको जीवनदायिनी शक्ति र ऊर्जा विखण्डित हुँदै गएको तथा त्यसलाई पुनः संगठित गर्न आवश्यक रहेको बताए।
यही सन्दर्भलाई कांग्रेससँग जोड्दै उनले पार्टीको ऊर्जा पनि विघटनतर्फ उन्मुख भएको र जीवनदायिनी शक्ति कमजोर बन्दै गएको महसुस भएपछि विशेष महाधिवेशनमार्फत युवा नेतृत्वलाई अगाडि ल्याइएको बताए।
देश, समय र युगको मागअनुसार पार्टीले रोजेको युवा नेतृत्वमार्फत कांग्रेसको शक्ति पुनः फर्काउने प्रयास भइरहेको उनको भनाइ छ।
कांग्रेसलाई युवा, महिला तथा देशभित्र र विदेशमा रहेका विभिन्न पेशा-व्यवसायमा आबद्ध नेपालीहरूको साझा घर बनाइने पनि उनले बताए।
घिमिरेले पार्टीमा सबैले उत्साहपूर्वक काम गर्ने वातावरण सिर्जना गर्दै कांग्रेसलाई अन्य दलभन्दा लोकप्रिय, सुदृढ र सक्षम संगठनका रूपमा स्थापित गरिने बताए।
युवाले उत्साहका साथ काम गर्न सक्ने, महिलाले नेतृत्व गर्ने अवसर पाउने र विभिन्न पेशा-व्यवसायमा आबद्ध नेपालीहरूले काँग्रेसलाई आफ्नो साझा घरका रूपमा अपनाउने वातावरण निर्माण गरिने उनले उल्लेख गरे।
उनले पार्टीभित्र एकता, सक्रियता र उत्साह बढाएर संसारलाई नमूना संगठन देखाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण नेता-कार्यकर्तालाई संगठन सुदृढीकरणको अभियानमा एकजुट हुन आह्वान गरे।