इङ्गल्याण्ड र मेक्सिकोबीच कडा टक्कर, मध्यान्तरसम्म इङ्गल्याण्ड २–१ ले अगाडि
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
329
Shares
काठमाडौँ । विश्वकप फुटबलमा अहिले इङ्गल्याण्ड र मेक्सिको भिडिरहेका छन् । मध्यान्तरसम्म इङ्गल्याण्डले २–१ ले अग्रता लिएको छ ।
खेलमा निकै कडा प्रतिस्पर्धा भइरहेको छ । खेलको ३६ औँ मिनेटमा जुड बेलिङ्घमले इङ्गल्याण्डलाई प्रारम्भिक अग्रता दिलाए । बुकायो साकाको पासमा बेलिङ्घमले गोल गरेका हुन् ।
त्यसको दुई मिनेटमै बेलिङ्घमले अर्को गोल थपे । ह्यारि केनको पासमा बेलिङ्घमले दोस्रो गोल गरेका हुन् ।
४२ औँ मिनेटमा मेक्सिकोका युलियन क्विनोनेसले गोल गर्दै अन्तर २–१ मा झारे । मध्यान्तरको इन्जुरी समयमा मेक्सिकोले निकै दबाबमा राखे पनि गोल भने गर्न सकेन ।
मेक्सिको अहिलेसम्म दुई पटक क्वार्टरफाइनलमा पुगेको छ । सन् १९७० र १९८६ मा मेक्सिको क्वार्टरफाइनलमा पुगेको थियो ।
सबैभन्दा बढी आयोजना गर्ने राष्ट्र भने बनेको छ । मेक्सिकोले तीन पटक सन् १९७०, १९८६ र अहिले गरी तीन पटक विश्वकप आयोजना गरेको हो ।
यता सन् १९५० देखि विश्वकप खेल्न थालेको इङ्गल्याण्डले अहिलेसम्म एकपटकमात्र उपाधि जितेको छ । सन् १९६६ को उपाधि जितेपछि उसले उपाधि उचाल्न सकेको छैन ।
इङ्गल्याण्ड दुई पटक सेमिफाइनलमा पुगेको छ भने ६ पटक क्वार्टरफाइनलमा पुगेको छ । पछिल्लो समय सन् २०१८ मा चौथो भएको इङ्गल्याण्ड २०२२ मा क्वार्टरफाइनलमा पुगेको थियो ।
जारी विश्वकपको अन्तिम ३२ मा मेक्सिकोले इक्वेडरलाई २–० ले हराएको थियो भने इङ्गल्याण्डले डीआर कंगोलाई २–१ ले पराजित गरेको थियो ।
को को पुगे क्वार्टरफाइनलमा ?
यसअघि नर्वे र मोरक्को क्वार्टरफाइनलमा पुगिसकेका छन् ।
क्यानाडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा पुगेको हो ।
त्यस्तै ब्रजिललाई २–१ ले हराउँदै नर्वे चौथो सहभागितामा पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो ।