'नदीको बीचमा मानिस गुहारिरहेका थिए तर उद्धार होइन मन्त्रीको हेलिकप्टर आयो' : सांसद शाही
कर्णालीमा भएको बस दुर्घटनापछि सरकारले देखाएको उदासीनता र फितलो उद्धार कार्यप्रति संसद्मा तीव्र आक्रोश
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
333
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले कर्णालीमा भएको बस दुर्घटनापछि सरकारले देखाएको उदासीनता र फितलो उद्धार कार्यप्रति संसद्मा तीव्र आक्रोश व्यक्त गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले आफूले कर्णालीमा केवल दुर्घटना मात्र नभई सरकारको चरम गैरजिम्मेवारी र असफलता देखेको बताए।
उनले असार १८ गते कर्णाली नदीमा बस खस्दाको विभत्स र दर्दनाक अवस्था स्मरण गर्दै यात्रुहरू नदीको बीचमा फसेर जीवन बचाइदिन हारगुहार गरिरहँदा पनि समयमै उद्धार हुन नसकेको उल्लेख गरे।
संसद्मा बोल्दै सांसद शाहीले भने, ‘मैले आज कर्णालीमा दुर्घटना मात्र देखेको छैन, सरकारको गैरजिम्मेवारी र असफलता देखेको छु। कर्णालीमा गाडी नदीमा खस्यो, मानिसहरू नदीको बीचमा फसेर जीवन बचाइदिन गुहार मागिरहेका थिए। एकजना व्यक्ति भीरमा अड्किएर बाँच्नका लागि संघर्ष गरिरहनुभएको थियो। तर उहाँहरूको जीवन सकियो, सरकारको उद्धार टोली बेलैमा आएन।’
सांसद शाहीले दुर्घटनाको समयमा आकाशमा हेलिकप्टर देखिए पनि त्यो छटपटाइरहेका नागरिकको उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि मात्र उडेको गम्भीर दाबी गरे। उद्धार टोलीसँग आवश्यक स्रोत-साधनको चरम अभाव रहेको औंल्याउँदै उनले प्रदेश राजधानी सुर्खेतमै हेलिकप्टर तयारी अवस्थामा हुँदा समेत घटनास्थलमा पठाउन नसक्नु सरकारको लाचारी भएको बताए।
उनले सरकारमाथि प्रश्न गर्दै थपे, ‘मैले तत्कालै उद्धारका लागि फोन गरेको थिएँ। तर उद्धार टोलीसँग आवश्यक साधन थिएन। सुर्खेतबाट घटनास्थलमा तत्काल जानका लागि एउटा हेलिकप्टर पठाउने क्षमता र तत्परता पनि यो सरकारसँग थिएन। सरकार आखिर कसका लागि काम गरिरहेको छ?’
सांसद शाहीले राज्यले कर्णालीका नागरिकमाथि सधैँ विभेद गर्दै आएको आरोप लगाउँदै कर्णाली पनि नेपालकै अभिन्न अङ्ग भएको र त्यहाँका जनताको जीवनको पनि मूल्य रहेको सरकारलाई स्मरण गराए।