सरकारको सय दिनमा जनतामा आशाको दियो भन्दा निराशाको आगो बलेको देखियो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
154
Shares
काठमाडौँ। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया(सीता)ले पर्साको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको ठोरी सीमा नाकामा भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लगाएको घट्नाप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र साहले सीमासम्बन्धी अभिव्यक्तिपछि नेपाल-भारत सीमावर्ती क्षेत्रमा विभिन्न किसिमका समस्याहरू देखिन थालेको उल्लेख गर्दै त्यसको असर ठोरी नाकामा पनि देखापरेको बताइन् ।
उनले भनिन्,‘पर्सा जिल्लाको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको ठोरी सीमा नाकामा भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लाग्दा पर्यटन व्यवसाय प्रभावित भएको छ। त्यहाँ भन्सार कार्यालयको भवन भए पनि आवश्यक कर्मचारीको व्यवस्था नहुँदा आफ्नै प्रशासनिक कमजोरीका कारण समस्या सिर्जना भएको देखिएको छ’, अगाडि भनिन्, ‘त्यसैले, म सम्माननीय सभामुख महोदयमार्फत ठोरी सीमा नाकाको समस्या तत्काल समाधान गर्न, आवश्यक कर्मचारीको व्यवस्था गर्न र सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’
उनले सरकारको एकसय दिन सफल नभएको जिकिर गरिन्। जनताले सरकारबाट ठूलो अपेक्षा गरे पनि एक सय दिनको समीक्षा गर्दा जनतामा आशाको दियो भन्दा निराशाको आगो बढी बलेको देखिएको उल्लेख गरिन् ।
‘सरकारले सय बुँदे कार्यसूचीमार्फत सुशासन, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणका प्रतिबद्धता जनाएको थियो तर व्यवहारमा जनताले त्यसको अनुभूति गर्न सकेका छैनन्। महँगी बढिरहेको छ, सेवा प्रवाहमा अपेक्षित सुधार देखिएको छैन र जेन-जी आन्दोलनसँग भएको १० बुँदे सहमति कार्यान्वयनमा पनि सरकार गम्भीर देखिएको छैन। सुकुमवासीहरू आज पनि सरकारको बाटो कुरेर बसिरहेका छन ।
भ्रष्टाचारविरुद्ध कडा कार्बाही आवश्यक छ तर कार्बाही निष्पक्ष, प्रमाणमा आधारित र कानूनी प्रक्रिया अनुसार हुनुपर्छ। अन्यथा सुशासनको सन्देशभन्दा पूर्वाग्रहको आशंका बढ्ने खतरा पनि उत्तिकै छ। त्यसैले सरकारले नागरिकसँग प्रतिशोध लिन मिल्दैन’, उनले भनिन् ।