नेपाललाई समृद्ध बनाउन स्वदेशी, मितव्ययिता र उत्पादनमा जोड
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
101
Shares
काठमाडौँ । पूर्व राज्यमन्त्री, उद्योगपति तथा समाजसेवी हरिप्रसाद पाण्डेद्वारा लिखित ‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँः समृद्धि प्राप्त नगरी मर्ने छैनौँ’ पुस्तक सार्वजनिक गरिएको छ।
मातृसेवा प्रतिष्ठान नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो।
पुस्तक विमोचनपछि लेखक पाण्डेले नेपाललाई आत्मनिर्भर र समृद्ध राष्ट्र बनाउन पुस्तकमार्फत व्यवहारिक प्रस्तावहरू अघि सारेको बताएका छन्।
देशको गरिबी, परनिर्भरता र कमजोर अन्तर्राष्ट्रिय पहिचान अन्त्य गर्न प्रत्येक नेपालीले राष्ट्रिय व्रतका रूपमा तीनवटा नियम अपनाउनुपर्ने उनको भनाइ छ।
उनका अनुसार स्वदेशी वस्तु तथा सम्भावनाको अधिकतम प्रयोग गर्ने, सकेसम्म कम खर्चमा जीवनयापन गर्ने र बढी प्रतिफल दिने काममा संलग्न हुने बानीले राष्ट्रिय समृद्धिमा योगदान पुग्नेछ।
अध्याय १२ मा ती प्रस्तावको आधार र अध्याय १३ मा राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने केही कठोर उपायसमेत उल्लेख गरिएको उनले बताए।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक अधिकारसँगै आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले राजनीतिक स्थिरता, सुशासन र दीर्घकालीन योजनाका आधारमा निजी, सार्वजनिक र सामुदायिक क्षेत्रको साझेदारीमार्फत मात्र समृद्धि हासिल गर्न सकिने धारणा राखे।
नेपाल कृषि प्रधान अर्थतन्त्रबाट औद्योगिक तथा सेवा प्रधान अर्थतन्त्रतर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले संविधानको मर्मअनुसार तीनै क्षेत्रलाई परिचालन गर्न सके देश समृद्ध बन्ने बताए।
पत्रकार टिकाराम यात्रीले पुस्तकमा नेपालको समृद्धिका सम्भावित आधारहरूको राम्रो विश्लेषण गरिएको उल्लेख गर्दै वर्तमान विश्वमा प्रविधिलाई केन्द्रमा नराखी समृद्धि हासिल गर्न कठिन हुने बताए।
उनले जनशक्ति, जलस्रोत, भूमि व्यवस्थापन, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, वैदेशिक लगानी र श्रम बजारसँगै प्रविधिलाई पनि समृद्धिको मुख्य आधारका रूपमा लिनुपर्ने धारणा राखे।
पूर्वसांसद डा. चन्द्र भण्डारीले पुस्तकलाई अनुभवबाट प्राप्त ज्ञानको संग्रहको संज्ञा दिँदै देश विकासका लागि व्यवहारिक नेतृत्व र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। उनले देश बनाउने संकल्प प्रत्येक नेपालीमा हुनुपर्ने उल्लेख गर्दै नीति निर्माणसँगै कार्यान्वयनमा जोड दिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीलगायतले पनि पुस्तकमाथि आफ्नो धारणा व्यक्त गरेका थिए।