एनपीएल अक्सनको क्याटेगोरी ‘सी’ बाट १७ खेलाडी बिके, सुजन र रितलाई सर्वाधिक मूल्य
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
321
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु भएसँगै पहिलो चरणको क्याटेगोरी ‘सी’ बाट १७ जना खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध भएका छन्। राजधानीमा जारी अक्सनमा यो क्याटेगोरीका कुल ७७ खेलाडी बिडिङ प्रक्रियामा सहभागी भएका थिए।
हालसम्म प्रक्रियामा रहेका १२४ खेलाडीमध्ये १७ जनाको टुङ्गो लाग्दा विराटनगर किङ्स र जनकपुर बोल्ट्सले सबैभन्दा बढी रकम खर्चिएका छन्। दुवै टोलीले सर्वाधिक ४ लाख २५ हजार रुपैयाँ खर्च गर्दै क्रमशः सुजन थपलिया र रित गौतमलाई आफ्नो टोलीमा भित्र्याउन सफल भए।
यस चरणमा विराटनगर किङ्सले सुजन थपलियालाई ४ लाख २५ हजार र अपराजित पौडेललाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। जनकपुर बोल्ट्सले पनि रित गौतमलाई समान ४ लाख २५ हजारमा टोलीमा समेट्दा सन्तोष कार्कीलाई ३ लाख तथा युवा बलर आशुतोष पाण्डेलाई २ लाख रुपैयाँ खर्चेर टोलीमा अनुबन्ध गरिसकेको छ।
यस्तै काठमाडौँ गोर्खाजले बागमती प्रदेशका अलराउन्डर सोनु देवकोटा, प्रसिद्ध जैसी र दयानन्द मण्डललाई समान २ लाख रुपैयाँका दरले टोलीमा समावेश गरेको छ। लुम्बिनी लायन्सले अरनिको यादवलाई २ लाख रुपैयाँमा भित्र्याउँदा कर्णाली याक्सले स्पिनर सूर्य तामाङलाई उनको आधार मूल्य २ लाख रुपैयाँमै टोलीमा सुरक्षित गरेको छ।
त्यसैगरी सुदूरपश्चिम रोयल्सले सचिन भट्ट र आयुव चन्दलाई समान २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। चितवन राइनोजले मौसम ढकाललाई ३ लाख रुपैयाँमा टोलीमा समेटेको छ भने विपिन रावल र अशोक धामीलाई समान २ लाख रुपैयाँमा भित्र्याएको छ।
पोखरा एभेन्जर्सले पनि यो क्याटेगोरीबाट तीन खेलाडी लिँदै सुदीप अर्याललाई ३ लाख, विवेककुमार रानामगरलाई २ लाख ७५ हजार र सन्नी विकलाई २ लाख रुपैयाँमा आफ्नो पक्षमा पारेको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार अक्सनको अन्तिम सूचीमा परेका १५५ खेलाडीमध्ये कुल ५२ जना विभिन्न टोलीमा आबद्ध हुनेछन् भने प्रत्येक फ्रेन्चाइजले अक्सनमार्फत थप दुई नेपाली खेलाडी टोलीमा थप्न पाउने नियम छ।