संयोजक चयनमा कुरा नमिल्दा लेखा समितिको बैठक ३ बजे पुनः बस्दै
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
321
Shares
काठमाडौँ । बेरुजु छलफल उपसमिति गठन गर्ने विषयमा दलहरूबीच सहमति हुन नसकेपछि प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ। मङ्गलवार बिहान बसेको बैठक निष्कर्षविहीन भएपछि आजै दिउँसो ३ बजे पुनः बस्ने गरी स्थगित गरिएको हो।
बिहानको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित गर्ने र बेरुजु छलफल उपसमिति गठन गर्ने कार्यसूची तय भएको थियो। तर उपसमितिको संयोजक चयनको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिलेपछि बैठक अघि बढ्न सकेन। सार्वजनिक लेखा समितिले अर्थ सुशासन उपसमिति, राज्य सुरक्षा, न्याय, कानुन र प्रशासन उपसमिति, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत र वातावरण उपसमिति, आर्थिक उत्पादन, विज्ञान र मानव पुँजी उपसमिति तथा सामाजिक न्याय, कल्याण र समावेशीकरण उपसमिति गरी पाँच वटा उपसमितिहरू गठन गर्न लागेको छ।
यी पाँचै वटा उपसमितिको संयोजक पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाबी गरेपछि विपक्षी दलहरूले त्यसको तीव्र विरोध गरेका छन्। शक्ति सन्तुलन र दलीय प्रतिनिधित्वको आधारमा संयोजक चयन हुनुपर्ने अडान विपक्षी दलहरूले राखेपछि सहमति जुट्न नसकेको हो। दिउँसो ३ बजे बस्ने बैठकमा दलहरूबीच सहमति जुटाउने प्रयास गरिने जनाइएको छ।