अख्तियारको प्रतिवेदन पेसदेखि राष्ट्र बैंक संशोधन विधेयक समितिको जिम्मा लगाउनेसम्मको कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
174
Shares
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बुधबार बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे नयाँ संसद् भवनमा बस्ने तय भएको हो।
आजको बैठकमा विभिन्न मन्त्रालयका महत्त्वपूर्ण विधेयकहरू र वार्षिक प्रतिवेदनहरू पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/०८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतीसौँ वार्षिक प्रतिवेदन २०८१/०८२ संसद्मा पेस गर्ने कार्यसूची रहेको छ।
व्यवस्थापन कार्यअन्तर्गत प्रधानमन्त्रीकै तर्फबाट कानुनमन्त्री गौतमले 'राष्ट्रिय सेवा दल विधेयक, २०८३' प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् भने त्यसलगत्तै विधेयक सदनमा प्रस्तुत गरिने कार्यक्रम छ। यसका साथै बैठकमा 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३' माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिनेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३' लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको 'पर्यटन विधेयक, २०८२' लाई समेत दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।