'विधानको आशय प्रधानमन्त्री हटाउने होइन, गलत नियतले अपव्याख्या गरियो'
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
249
Shares
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको संसदीय दलको विधानमा रहेको व्यवस्थालाई गलत नियतका साथ अपव्याख्या गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बुधबार सञ्चारकर्मीहरूले 'प्रधानमन्त्री वालेन्द्र साहलाई संसदीय दलको नेताबाट जुनसुकै बेला पनि हटाउन सक्ने' प्रावधान विधानमा राखिएको विषयमा सोधेको प्रश्नको जवाफ दिँदै उपनेता पराजुलीले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले विधानमा संसदीय दलको नेता मात्र नभई पार्टी सभापति रवि लामिछाने, उपनेता स्वयं र अन्य पदाधिकारीलाई समेत पदबाट हटाउन सक्ने नियमित कानुनी प्रावधान राखिएको स्पष्ट पारे। तर, केही वृत्तबाट संसदीय दलको नेतालाई मात्रै लक्षित गरेर प्रावधान राखिएको जस्तो गरी विषयलाई बङ्ग्याउन खोजिएको उनको दाबी छ।
उपनेता पराजुलीले कुनै पनि राजनीतिक दलको विधान व्यक्ति विशेषलाई हेरेर नभई समग्र पार्टीको संस्थागत प्रभावकारिता र भविष्यलाई ध्यानमा राखेर निर्माण गरिने बताए।
उनले भने, ‘यसमा अन्यथा लिनुपर्ने कुनै कारण छैन। अन्य पदाधिकारीको पदको अन्त्य कहिले र कसरी हुन्छ भनी व्याख्या गरिए जस्तै संसदीय दलको नेताको पद पनि कसरी अन्त्य हुन्छ भनेर व्यवस्था गरिएको हो। यहाँहरूले यसलाई जुन आशयका साथ उठान गर्नुभएको छ, त्यो नियतसँग जोडेर हेरिएकाले अपव्याख्या भएको मेरो बुझाइ छ। विधानमा संसदीय दलको उपनेता र सभापतिको पद कसरी हट्छ भन्ने परिकल्पना पनि गरिएको छ, तर त्यसको चर्चा भएन।’
पराजुलीले जुनसुकै प्रजातान्त्रिक पार्टीको विधानमा पनि संसदीय दलको नेता वा पदाधिकारीलाई हटाउन सक्ने आन्तरिक व्यवस्थाहरू हुने तथ्यलाई नभुल्न सञ्चारकर्मीहरूलाई आग्रह गरे।