स्वास्थ्य बीमाबारे अर्थमन्त्रीको अभिव्यक्तिको विरोध, सल्यान अस्पतालमा सेवा ठप्प पारिएको भन्दै सांसद मल्लको आक्रोश
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
252
Shares
काठमाडौँ । प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले स्वास्थ्य बीमा कार्यक्रम यथास्थितिमा चलाउन नसकिने भनी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मल्लले नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेर बनेको सरकारले उल्टै भएको स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालन गर्न नसकिने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे। उनले जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा बन्द भएको जानकारी दिँदै त्यसलाई तत्काल सुचारु गराउन सरकारलाई दबाब दिए।
बैठकमा विशेष समय लिएर बोल्दै सांसद मल्लले कर्णाली क्षेत्रको स्वास्थ्य अवस्था र चिकित्सक अभावको विषयलाई लिएर सरकारको कडा आलोचना गरे। उनले भने, "सल्यान जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा स्वास्थ्य सेवा प्रभावित भइरहेको कुरा गम्भीरतापूर्वक हामीले उठाएका थियौँ। तर, अहिलेसम्म सरकारको तर्फबाट कुनै ठोस पहल भएको छैन।" उनले अस्पतालमा सामान्य उपचारसमेत पाउन नसक्दा बिरामीहरू बाध्य भएर घर फर्कनुपर्ने दुःखद अवस्था सिर्जना भएको बताए।
कर्णालीमा विशेषज्ञ चिकित्सकहरू पठाउनका लागि स्वास्थ्य मन्त्रालयमा पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको उनको आरोप छ। सरकार कर्णालीको स्वास्थ्य उपचारको सवालमा चरम गैरजिम्मेवार बनेको जिकिर गर्दै उनले थपे, "जिल्ला अस्पतालमा भइरहेको स्वास्थ्य बीमा कार्यक्रम पूरै बन्द भएको अवस्था छ। अर्कातर्फ, अर्थमन्त्री यस्तो खालको स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न नसकिने भन्दै हिँड्नुभएको छ।"
सांसद मल्लले सरकार समग्र स्वास्थ्य क्षेत्रमा देखिएका संवेदनशील समस्याहरू समाधान गर्न पटक्कै गम्भीर नभएको भन्दै संसद्मार्फत तत्काल सुधारको कदम चाल्न माग गरे।